• १ भदौ २०८१, शनिबार

पुल भासिएपछि स्थानीयलाई सास्ती

blog

कमला नदीको पुल भासिएपछि स्थानीयहरू बाँसको सिँढी जोडेर आवत–जावत गर्दै । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, भदौ १ गते । मधेशको जीवनरेखा भनेर चिनिएको हुलाकी सडकमा पर्ने कमला नदीको पुल भासिएको तीन वर्षभन्दा बढी समय भएको छ । पुल निर्माण सम्पन्न भएर उद्घाटन हुने अवस्थामा पुगेपछि पुल भासिएपछि स्थानीयको आशा निराशामा परिणत भएको छ ।

कमला नदीको वारी सिराहामा पूर्वतिर बस्ने बस्ती रहेका छ । पारी पश्चिम धनुषामा खेत रहेका किसानलाई बढी समस्या भएको छ । कमला पुलमा जोडिएको बासबाट आवत–जावत गरेर गाईबस्तुका लागि घाँस ल्याउने गरेको महिला–पुरुषले आफ्नो पीडा सुनाउने गर्नुभएको छ ।

सिराहा–६ बसबिटाका ५० वर्षीय धर्मकुमार यादव छोरा–बुहारीसहित कमला पुल भासिएको ठाउँमा बाँस जोडिएर बनाएको सिढीबाट भर्खरै ओर्लिएर बसेको बेला उहाँसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो, ‘क्यामेरा लिएर पत्रकार पुलको तस्बिर लिन आइपुग्दा आशा जाग्छ । 

चार बिघा जमिन कमला नदीको पारी धनुषा कमला नगरपालिकामा पर्छ । बस्ने घर मात्र वारी सिराहा नगरपालिकामा छ । गाईबस्तुका लागि घाँस र खेतीपातीको कामका लागि पारी जानैपर्छ । खोलामा असारदेखि असोजसम्म बाढीको कारण तर्न सक्दैनौँ । यो पीडा रामकुमारी यादवको मात्र होइन, बसबिटा गाउँका अधिकांश किसानको यही पीडा छ । 

धनुषाको कमला नगरपालिका–४ सगराहा स्थायी बसोबास भएको ५५ वर्षीय शत्रधन यादवले भन्नुभयो, “शनिबार बाहेक सिराहामा रहेको सहरी विकासमा मिस्त्रीको काम गर्न दिनहुँ साइकलसहित पुलमा जोडिएको बाँसको सिँढी चढेर ओर्लिने र झर्ने गर्दा कुनै दिन खुट्टा चिप्लियो भने ज्यान जान्छ ।’ 

धनुषा कमला नगरपालिका –१३ का ४० वर्षीय श्रीराम साहले आफू जोखिममा ज्यान राखेर व्यापार गरिरहेको बताउनुभयो । दिनहुँ सिराहा र धनुषा वारिपारि जाने बच्चादेखि बुढासम्मको पार गर्न बाँसको सिँढीमा चढेर कमला नदी वारपार गर्ने समस्या कहिले टर्ने उहाँले जिज्ञासा गर्नुभयो ।

चार सय ७० मिटर लामो ११ मिटर चौडाइ र साढे तीन वर्षभित्रै सम्पन्न गर्नेगरी २०६८ साल मङ्सिरमा २४ करोड ९१ लाखमा पप्पु विल्डर्स कन्स्ट्रक्सने ठेक्का लिएको थियो । पटक पटक म्याद थप्दा पनि पुल निर्माणको काम अघि बढेको छैन ।

काम सम्पन्न नभएपछि पप्पु कन्सट्रक्शनबाट ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्ट्रकशनले सम्झौता गरेको थियो । २०७८ असार १३ गतेभित्र सम्पन्न गर्नेगरी भएको सम्झौताअनुसार काम अघि बढेको थियो । काम सम्पन्न भएर उद्घाटन गर्न तयारी भइरहेको अवस्थामा २०७८ असार १७ गते आएको बाढीले पुलमा असर गरेको थियो ।

पुल सञ्चालनमा नआउँदा सिराहाका स्थानीय मधेश प्रदेशको राजधानी जनकपुर आधा घण्टाको बाटो दुई घण्टा लगाएर जानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।