• १६ भदौ २०८१, आइतबार

अमरनाथ अर्थात् बर्फानी बाबा

blog

काठमाडौँबाट ऋषिकेश र हरिद्वार तीर्थाटन थियो । यसपछि हाम्रो बस काश्मीर अमरनाथ गुफा (बर्फानी बाबा–शिवलिङ्ग) दर्शनमा लाग्यो । यो दर्शनका लागि दुई गोरेटा रहेछन् । एक, पहलगाम ३५ किलोमिटर हेलिकोप्टर उडान सुविधासमेत । अर्को, बालटाल १४ किमी । हामी ३५ जवान नरनारीले बालटाल रोज्यौँ । जम्मुकाश्मीर राज्य सरकार नियममा ७० वर्ष उमेर कटेकालाई अमरनाथ दर्शन निषेधित छ । उमेर अपवादमा म ८१ वर्षको ! म मेरा भतिजीज्वाइँ राम पौडेलका सहयात्री थिएँ । 

प्रवेशविन्दु भगवतीनगर (जम्मु) थियो । कार्यालयबाहिर प्रतीक्षामा तीन घण्टा, अनि एक विशाल हलमा भुइँका दरीमा बसेर लाम लागियो । फाराम भरियो, संलग्न थिए हाम्रा परिचयपत्र र राहदानी आकारका तस्बिर । जम्मुकाश्मीरका सरकार निम्ति हामी विदेशी ठहरियौँ । तदनुरूप अनुमति शुल्कमा भारतीय रुपियाँ एक हजार ५५० तिरियो जहाँ आधार कार्ड हुनेको १५० मात्र छ । राष्ट्रियता हाम्रो मूल धर्म, बिनाआपत्ति बुझायौँ पनि । यहाँ मनमा कुरा खेले–औरङ्गजेबले हिन्दुलाई ‘जजिया’ (धार्मिक कर) लगाएका थिए रे ! सनातनी नेपालीको पनि यो ‘जजिया’ थियो, भारतीय जनता दलका शासन हैकममा । नेपाल सार्क राष्ट्रको एक सदस्य, हामीलाई बिझेन तर यसको गरिमा रहेको देखिएन ! शुल्कमा अघि यस्तो विभेद थिएन रे ! 

मेरो विसं २०१९ मा मोरङ विराटनगरबाट प्राप्त नागरिकता । अधिकारी वर्गले नागरिकताको चिर्कटो भन्दा बढी मेरै मुहार पढे ! म ६९ वर्षको ठहरिएँ । मैले पनि कुरा चुट्न बाँकी राखिनँ, ‘पशुपतिनाथ भी आओ । अनुमति नहीँ चाहिये ।’ चार–पाँच वटा टेबुलका सबै नारी वा पुरुष अधिकारी हँसिला, रसिला र सहयोगी देखिन्थे । अनुमतिमा चिप संलग्न लकेट थियो, यन्त्रले यात्रीको तस्बिर देखाउने । लकेट पाएँ, उमेरको खड्गो काटेँ । बाहिर प्रतीक्षा कक्षमा सूचना थियो, ‘खाना तयार है ।’ बिरयानी साह्रै मिठो थियो रे ! 

यथार्थमा भोलेबाबा दर्शनमा हामीले गएको ८ जुलाई सोमबारको शुभ दिन रोजेका थियौँ । सरसामान बसका छतमा थिए । यसपछि बस गुड्यो, एकैछिनमा रोकियो पनि । यो थियो ७ जुलाई चेकिङमा लाम । अगाडि एक/दुई हजार थिए, कुममा झोलासहित । नारीको पृथक् लाम थियो । दुई घण्टा लाग्यो । दोहो¥याएर बसका बाक्सा जाँच गराउन अर्को लामले अर्को एक घण्टा खायो ! यसपछि सेना परिसरमा प्रवेश भयो । पैदल घुमेरै नसकिने, त्यहीँ बस बिसौनीसमेत । 

विश्राम भवनको तेस्रो तलामा उक्लियौँ । हजारौँ यात्री थिए, खुट्टा पसार्ने ठाउँसम्म थिएन ! भोजनको प्राथमिकता भएन । तल पटाङ्गिनीमा भोजन (लङ्गर) थियो, निःशुल्क । गोडीले थेग्न छाडेका थिए, छ दिनदेखि बसका सिटमा लत्रेका लœयै । गोलीगाँठा तल सुन्निएर शौचका पिटपिटे चप्पलसम्म अटेका थिए । रातिको १२ नाघिसकेको थियो । सेनाको सूचना आइरहेको थियो, कहिले भोजन, कहिले भोलिको पाटो, कहिले माथि दर्शनको । अनि सूचना थपियो, सेनाले बसहरू एकै लाममा प्रस्थान गराउँदै छ, ४ बजे बिहान । साढे दुई बजे नै आराम गर्न बसमा पस्यौँ । उखरमाउलो गर्मीले उसिनियौँ, भोक र निद्रा टरे । 

बिहानी ५ बजे परिसरले मूलद्वार उघा¥यो । बसलाई मूल बाटो पैल्याउन १५ मिनेट लाग्यो । बस रफ्तारले बल्लतल्ल शीतलता छायो । लगत्तै अर्को व्यथा, बिहानीका शौच कर्म ! बस गुडिरहे, सेनाको निर्देशन थियो । आधा घण्टा जसोमा बस ठिङ्ग अडिन्थे । चौक, चौबाटा, गल्ली गल्छेडाबाट निस्कने कार, मोटरसाइकल, पैदल सबै ठप्प देखिन्थे । लाग्थ्यो, हाम्रो सत्कारमा अडिएका तर यो सेनाको सुुरक्षा रणनीति थियो । बसयात्रीलाई भनियो, बाहिर ननिस्क ! डाँडामा घरबास देखिन्थे । उपत्यका फाँट र पर्वत शृङ्खलामा प्रकृतिले शस्य सामल हराभरा मनोरम छटा झल्काएका थिए । हिन्दुस्तानले थल सम्पर्कमा ठुलै फड्को मारेछ ! फराकिला राजमार्ग, जाने एकतर्फी, फर्किने अर्कोतर्फी । ८०/९० किमी रफ्तारमा सलल्ल बग्ने । सुरुङसमेत कतै सात÷आठ किमी लामा । तथापि यो क्षेत्रमा एक पृथक् त्रास रहेछ हिंसा आतङ्कको । यसै निम्ति सेनाको गहिरो निगरानी ! हामीबिच भारतीय संविधान धारा ३७० का चर्चा चले । विदेशी आतङ्ककारी नियन्त्रणमा स्थानीयका मुहार पढ्ने कि, सेनाका आत्मत्यागको चर्चा सुन्ने ? हाम्रो चासो भने मात्र एक यात्रा सुविधा । पाँच मिनेट निम्तिसमेत ओर्लिन नपाइने । कसैलाई हिंसा आतङ्कवादविरुद्ध चासो भने कसैलाई पेट आतङ्कको ! पेटको फाल्ने कि पेट भर्ने ? 

एउटा बिसौनी आयो, सेनाले ढ्वाङ फुक्यो, १५ मिनेट । कहरमा १०/२० वटा बस लाममा यात्री थपिए । लङ्गरमा खान निःशुल्क, दिसापिसाब सशुल्क । कतिले कि खाए, कि अर्को थोक भ्याए । हामीले पानीका बोतल किन्यौँ । चर्को घाम थियो ।  सेनाका निगरानी घटेनन् । थप तीन घण्टाको ससाना खेपियो । तब पुगियो बालटाल । आकाश थोप्लाथोप्लीमा झर्दै थियो । बस बिसौनी १० मिनेट पर, बाटोमुनि तम्बुहरू ठडिएका थिए, अझ तल मूलबाटोमा सेना । माथि तम्बु पुग्ने प्रवेशद्वारमा सेना । एउटा तम्बु रोज्यौँ, शुल्क ति¥यौँ, त्यहीँ खाट र ओढ्नेओछ्याउने थिए, ढल्कियौँ । बाटोमाथि लङ्गर, यहाँ पनि लाम । थाल लिएर उभियौँ, हकारेको स्वर आइरह्यो, ‘चलो ! चलो !’ निःशुल्क भोजनले मेरो मन लोभिएन । जाडो थियो । १३ हजार फिट अमरनाथमा झन् के होला ? तम्बुमा कैले मालिस, कैले सिल्क विक्रेता, कैले जुत्ता पालिसले बिथोली रहे । यसैमाझ सेनाका फर्मान आए, सोमबार बिहान ३ बजे अमरनाथ प्रवेशद्वारमा लाम लाग्यौँ, अनिदोमै । जति चाँडो लाम, उति समसाँझै तम्बुमा फर्किन पाइने । 

अमरनाथ गुफा जान कि पैदल, कि घोडा, कि दुई अगाडि र दुई पछाडि गरी चार जनाले बोक्ने खुला पालकी । घोडा सवारी भाडा चार हजार चार सय र पालकी १७ हजार रुपियाँ । सेनाको सिसिटिभी र एक्सरेबाट गुज्रिनुपर्ने । अनि छाता, मोबाइल, घडी, कम्मरपेटीका जाँच बेग्लै । यो कडाइ राम्रो पनि थियो । आतङ्ककारीबाट हामी सुरक्षित रह्यौँ ! तथापि तीर्थालु, सेना जवान र आतङ्ककारी हताहतमा अघिपछिका घटना सुन्न छाडिएन ।

प्रवेशमा अर्का तीन घण्टा बिते । बल्ल घोडा र पालकीको सवार सुरु भयो । गुफादर्शन सनातन वैदिकीको, यसमा घोडा, पालकी र व्यापार सेवा मुसलमानको । केही परसम्म टायलका गोरेटोपछि यथार्थ यात्रा प्रारम्भ भयो । धेरै उकाली, थोरै ओरालीमा कतै कतै तेर्सा बाटा । तल हिमनदी निरन्तर प्रवाहित थिइन् । पारि डाँडामा शुभ्र हिमचट्टान झल्किन्थ्यो । नदी यसैमुनिबाट लुक्तै, हौसिँदै, अत्तालिँदै फाल हालेकी । मैले सइसलाई सोधेँ, ‘नदीको नाम ?’ 

‘दरिया ।’ अरूलाई सोधेँ, ‘दरिया ।’ अनि मनमनै जपेँ, ‘जय अमरगङ्गे !’ उकालीओराली र साँघुरो बाटोमा जाने तीन र फर्किने तीन थरी लाम थिए । घोडा र पालकी धनीले दानापानी, रोजगारी र परिवारका सपना बोकेका थिए । चर्को घाम, बाटो सुक्खा, धुलै खाइने, धुलै नुहाइने । चियाखाजा खाने थला र बिसौनी यत्रतत्र गन्धमा ह्वास्स घोडाका लिदी ! तैपनि विश्रामधारीका मुख चलिरहेका देखिन्थे । झरी परेको दिन भए चिप्लेटी खेल्ने कि जोगिने !

सइसले अमरनाथ गुफाभन्दा दुई किमी ओल्तिर छाड्यो । अब उद्देश्यमा दर्शन, यो आआफ्नो थियो । रामज्वाइँले भन्नुभयो, “म नदीको देब्रेतिरबाट लाम लाग्छु, काका पालकीमा जानोस्, माथिसम्मै पुगिन्छ, चाँडो दर्शन हुन्छ ।” शुल्क ठेकिएकै, तीन हजार दुई सय रुपियाँमा पु¥याउने, ल्याउने । चढेँ, चारमध्ये एक वाहक हिन्दु रहेछ । उसैलाई मोबाइल र कम्मरपेटी जिम्मा लाएँ । गुफाका खुड्किला उक्लिन थालेँ । भगवती नगरदेखि गुफा नउक्लिउन्जेल सेना गस्ती र निगरानी बेहोर्दै आएँ । खै, सेनाको कमान ! खै, तैनाथी ! यहाँ कतै, केही झल्केन । वाहकले मलाई निकै खुड्किला माथिसम्म पु¥यायो । असमेल र खाँदाखाँदको भिडमा मेरो हौसला भङ्ग भयो, घँच्याडाघँच्याडले सातोपुत्लो उड्यो । दर्शनमा आधासरो खुड्किला बाँकी थिए । वाहकले भन्यो, “मैले योभन्दा माथि जान मिल्दैन ।” मेरो घाँटी सुक्यो, सम्भव १३ हजार फिटमा लेक लाग्यो । मैले एक तीर्थालुसँग पानी मागेँ, घटघटी चार/पाँच घुड्का खाएँ । 

पछाडिकाले घचेड्दै थिए, उक्लिन सन्तुलनसम्म राख्नुपर्ने । मेरा अघिल्तिर एक जना ४५/५० बर्से भक्त थियो । उसका कुममा हात राखेँ र उसले पछाडि फर्किनुअघि कानैमा सुनाएँ, ‘मुझे बचा लो !’ उसले पुलुक्क फर्केर हे¥यो । अब ऊ मेरो अकल्पनीय सहारा थियो । अमरनाथ लिङ्गका ५० फिटवरदेखि बार लाएको थियो । त्यहीँबाट पुजारीले दर्शनार्थीलाई आशीर्वाद र प्रसाद पुडिया बाँडिरहेका थिए । फूलप्रसादको चलन हराएछ ! पछि त्यो संरक्षक भक्तले निकै माथि लिङ्गका विपरीत चट्टानमा तीन थान खरानी रङका परेवा देखायो । सुनेको थिएँ त्यहाँ एक जोडी सेता, शिथिल, वृद्ध परेवा छन् जसले पार्वतीमाता निदाइसकेपछि भोलेबाबाबाट अजरअमर आशीर्वाद गाथा सुनेका थिए ! आज बाबा अमरनाथ फगत शिलालिङ्गमा थिए । लिङ्ग छोपिएर १० हातसम्म अग्लो हिम स्तम्भ ठडिन्थ्यो रे, यस्तो पाइनँ । अझ भनिएको थियो, बाबाका दायाँबायाँ विघ्नविनाशक गणेश र मातापार्वतीको हिमआकृति पनि दर्शन हुन्छ !  

साँझ थकित बालटाल फर्कियौँ । सास्ती खेप्न बाँकी थियो । सेनाले तल द्वार बन्द ग¥यो, सडकमा भौँतारिइरह्यौँ । अर्को तीन घण्टा माथि तम्बुमा जान मिलेन । भोलि फर्किन सेनाको ससाना त अझ भोग्नै थियो ! पछि सुनेँ, त्यो दिन ३० हजार भक्तले दर्शन गरे !   

Author

रामेश्वरप्रसाद बराल