• १० मंसिर २०८१, सोमबार

ओल्के पर्व

blog

डोटेली संस्कृतिमा हरेक महिनाको पहिलो दिन सङ्क्रान्तिलाई पर्वका रूपमा मानिन्छ । हरेक महिना परिवर्तन हुँदा सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गरेको हुन्छ । त्यस दिनलाई शुभकार्यका लागि अपुच्छ्य दिन पनि भनिन्छ । वैशाखलाई बिसु, साउनलाई हरेली भने जस्तै भदौ सङ्क्रान्तिलाई ओल्के भन्ने गरिन्छ । भदौ १२ महिनामध्येको एक महिना हो । साउनबाट भदौ सुरु हुँदा सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गरेको हुन्छ । त्यसैले सिंह सङ्क्रान्ति पनि भनिएको हुन्छ । भद्रा नक्षत्रबाट भाद्र भनिएको हो ।

प्राचीन ज्योतिषशास्त्रको चन्द्रमास प्रणाली अनुसार भाद्र महिना श्रावणपूर्णिमाको भोलिपल्टदेखि सुरु हुन्छ भने सौर्यमासका अनुसार सिंह सङ्क्रान्तिको दिनदेखि भदौ महिनाको सुरुवात मानिएको छ तर शाक्य पञ्चाङ्गमा भने भदौ महिना सिंह सङ्क्रान्तिको पाँच दिनपछाडि सुरु हुन्छ । प्रायः सौर्यमास सूत्रलाई नै अपनाइएको देखिएको छ । भदौ वर्षा ऋतुको दोस्रो महिना हो । अङ्ग्रेजी महिनाको आधा अगस्त र आधा सेप्टेम्बर भदौभित्र पर्छ । सामाजिक परम्परा र रीतिरिवाज अनुसार ओल्को दिइने दिन भएकाले ओल्के भनिएको हो । ओल्को भन्नाले ओलक, उपहार, कोसेली मानिन्छ । प्राज्ञ नेपाली बृहत् शब्दकोशमा ओल्को भन्नाले १० भाद्र सङ्क्रान्ति, भदौ २० भाद्र सङ्क्रान्तिका दिन तल्लो जातले माथिल्लो जातका मानिसलाई दिने कोसेली (फलफूल, सागपात आदि), ३० भाद्र सङ्क्रान्तिका दिन आफन्त, मान्यजनका घरमा लगी दिइने फलफूल सागपात आदि कोसेली वा त्यस्तो कोसेली दिने पर्व ।

सुदूरपश्चिममा ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुला बडा मान्यजन वा ज्येष्ठ नागरिकलाई कर्कलाको भित्री पात (गाभा), फलफूल आदि दिनु, मिठोमसिनो खानु यस पर्वको विशेषता हो । यस्तै सागपात अन्न, दुध, दही, घिउ आदि लगेर मान्यजनकहाँ भेटघाट गर्ने चलन छ ।

हरेक उत्पादनको पहिलो अंश देवतालाई चढाउने गरिन्छ । अन्न देवतालाई चढाउने कार्यलाई न्वागी भनिन्छ भने फलफूल, सागपात ओल्कोका रूपमा देवतालाई पनि उपहार दिने गरिन्छ । देवताको मन्दिरबाट सुरु गरिएको ओल्को दिने कार्य आफूसँग सम्बन्धित सबैको घर घरमा पु¥याइन्छ । भदौ १ गते बिहानै उठी नुहाइधुवाइ गरेर विभिन्न परिकार बनाएर आपसमा मिलेर खाने चलन छ । यसै गरी यो दिन आआफ्नो पेसासँग सम्बन्धित औजारहरू जस्तै सिन्का, पात, चिम्टा, चुलेसी आदि आफन्तलाई उपहारका रूपमा ओल्को दिने चलन पनि छ । यो पर्व सुदूरपश्चिमवासीको मौलिक एवं जेठो पर्वका रूपमा मनाइन्छ । यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ । ठुलालाई सम्मान गर्नु र सानालाई माया गर्नु पनि यो पर्वको विशेषता हो । यो पर्वमा सतरती अर्थात् सात दिन सात रातसम्म झरी पर्छ भन्ने विश्वास गरिन्छ । खहरे खोला ठुला नदीलाई, नदीहरू समुद्रलाई ओल्को दिन जान्छन् । यो समयमा आकाशमा तारा देखिएमा वा वनमा चर्न गएको भैँसीको सिङ ओभानो देखिएमा अनिकाल पर्छ भन्ने जनविश्वास पनि रहिआएको छ । प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति वा किरा, फट्याङ्ग्रा देखिनुका साथै धुलो, धुवाँ र फोहोर पखालिन्छ र पानीका मुहान फुट्न थाल्ने पनि जनविश्वास रहिआएको छ । वर्षाको प्रशस्त पानीले प्रकृति सफा पारेको हुन्छ । त्यस्तो शरीरमा भएका त्रिदोष पनि सफा गरिन्छन । त्यसैले लुतो फाल्ने दिन पनि मानिन्छ ।

डोटेली संस्कृति मान्यता अनुसार साउनको रात, पुसको प्रभात (बिहान), जेठको दोफरी (दिउँसो) लाई अप्ठ्यारो समय मानिन्छ । एउटा अप्ठ्यारो सकिएपछि नयाँ समय आउँछ । साउनको रातलाई कालो रात (अन्यारी) भन्ने गरिन्छ । कालो समय कटेपछिको नयाँ दिनका रूपमा ओल्केलाई मानिन्छ । पर्वहरू यस्तै समयमा नयाँ आयामसहित आउँछन् । त्यही दिनबाट अगाडिपछाडिका दिन गणना हुन्छन् । ओल्केअघि ओल्केपछि भन्ने गरिन्छ ।

ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो, गतानी डुब्का, भक्के रोटो, रोट, माणा, खाने र रमाइलो गरी नाचगान गर्ने प्रचलन पनि रहेको छ । गतको फाणोलाई निकै महत्वका साथ लिइन्छ । डोटेली संस्कृतिमा चाडपर्वलाई त्यार भन्ने गर्दछन् । त्यारमध्ये ओल्के पहिलो त्यार मानिन्छ । चाडपर्वमा परिकार बनाउन अन्न आदि छुट्याइन्छ । यसरी छुट्याइएको सामग्रीलाई त्यार वाणो भन्ने गरिन्छ । आफूसँग नभएमा छिमेकीसँग त्यार वाणो मागेर भए पनि चाडपर्व धुमधामसँग मनाइने गरिन्छ । 

ओल्केका समय पुग्दा बर्खा निकै हुने समय भएको हुन्छ । लामो झरीका कारण प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्रा देखिन थाल्छन् । धुलो, धुवाँ र फोहोर पखालिन्छ । पाखापखेरामा नवधार (पानीका मूल) फुट्छन् । पृथ्वी पुनः सस्यश्यामला र कञ्चन बन्छिन् । यसैबेला पहाडका खोलानालासमेत समुद्रलाई ओल्को पु¥याउँछन् । एउटा खहरे समुद्रसम्म पुग्न सात दिन सात रातको समय लाग्छ भन्ने मान्यता छ, त्यसैले सात दिन सात रात झरी पर्छ भन्ने पनि गरिन्छ । कुमाउतिर यस पर्वलाई घिउ तिहार भनिँदो रहेछ । यस दिन घिउ खानैपर्ने हुन्छ रे । त्यहाँको लोकमान्यतामा ओल्केई सङ्क्रान्ति नमानेमा अर्काे जुनीमा शङ्खे किरो (गड्याल) भइन्छ रे ! कतै कतै चतुर्मासको बेला कैलाशतिर गएका देवताहरूलाई सम्झँदै देवस्थलमा बत्ती बाली नयाँ अन्नको कोसेली चढाइएको हो भन्ने मान्यता पनि छ । परिवार परिवारबिच सामाजिक, आर्थिक व्यवस्था अनुसार सेवा तथा उत्पादन आदानप्रदान गरिन्छ । सेवा तथा सामग्री आदानप्रदान गरिने चिजबिजलाई निसरा, खानुमानु, बैकरसँगै फसल अनुरूप दिइनेलाई खलो पनि भन्ने गरिन्थ्यो । तिनै सम्बन्धित परिवारमा ओल्को दिइने गरिन्छ ।

ओल्के सङ्क्रान्तिका दिन गाउँनजिकैको अग्लो टाकुरामा सबै जना गाउँले मिलेर रुखका हाँगाबिँगा, झ्याङ आदि जम्मा पारेर एक ठाउँमा थुप्रो बनाइन्छ, जसलाई स्थानीय भाषामा बुडी हालेको भनिन्छ । द्वापरयुगमा भगवान् कृष्णको अगुवाइमा ग्वालाले पुतनालाई बाँधेको खुसियालीमा बुडी बाँध्ने गरिन्छ । जसलाई असोज सङ्क्रान्तिको साँझ घर घरबाट आगोको राँकोका साथै बाबियो तथा विभिन्न रङ्गीचङ्गी फूल तथा पातबाट सिँगारिएको बुडीलाई गाईगोठबाट ‘गाईबाच्छी पाल बुडी निकाल’ भन्दै हर्षोल्लाषका साथ बुडी हालेको ठाउँमा गएर एकै पटक पोल्ने चलन रहिआएको छ । यसरी बुडी पोलेमा विभिन्न रोगव्याधिबाट मुक्त हुनुका साथै त्यसबाट निस्कने धुवाँ जतातिर जान्छ, त्यतातिरको अन्नपातसमेत राम्रो हुने जनविश्वास रहनुका साथै बुडी पोल्दा पानी नपरेमा बुडीको जित हुने र पानी परेमा गाईको जित हुने तथा बुडीको हार हुने विश्वास गरिन्छ । ओल्केको दिनमा नै बाबियाको डोरीको पिङ बनाउने गरिन्छ ।

मध्यकालीन डोटी राज्य आर्थिक, सामाजिक रूपले निकै व्यवस्थित मानिन्छ । मल्लकालीन शासनपूर्व पनि डोटी शक्तिशाली शासकका रूपमा पाइन्छ । तमाम रीत, परम्परा पाल वंशको अन्त्य र मल्ल वंशको उदयसँगै प्रारम्भ भएका देखिन्छन् । त्यसै समय तमाम मन्दिरमा राजपूजाको व्यवस्था गरिएको थियो । वर्णव्यवस्थामा थर निर्धारण गरिएका थिए । बिर्ता मुख्येली दिइएको थियो भने सामाजिक रीतिरिवाज परम्परा पनि सुरु गरिएका थिए । कत्युरी ठकुरी शासकसँगै आर्य बाहुन, क्षेत्रीको बाहुल्यले वैदिक मान्यता टेकेर रीत परम्परा निर्धारण भएका पाइन्छन् । हरेक गाउँको प्रतिनिधित्व गरेर मुखियाले अजयमेरुकोटमा ओल्को दिन जान्थे । राजा स्वयम् देवालय पुगी ओल्को चढाउँदै भाकल गरी आउँथे र वर पाउँथे । तिनै क्रियाकलाप प्रथा प्रचलनका रूपमा स्थापित भएका पाइन्छन् ।

काली (कर्णालीबिचको तत्कालीन डोटी राज्य हालको सुदूरपश्चिम प्रदेश) का दुर्गम, विकट र एकान्त पहाडी कुइनेटा र खोँचमा बसेका व्यक्ति असार, साउनको लगातारको झरी, बाढीपहिरो इत्यादिले सम्पर्कविहीन भएका हुन्थे । मकै र कोदो (पछिबाट धान पनि) लगाउने र गोड्ने चटारो अलग हुन्थ्यो । यसरी चौमासमा सम्पर्क विच्छेद भएका आफ्ना प्रियजनलाई उपहारस्वरूप कुनै खाद्यवस्तु पठाउँथे । त्यसैलाई ओल्को भनिन्थ्यो । यो ओल्को देवता र राजालाई पनि पठाइन्थ्यो । देवतालाई रक्षा गरेबापत र राजालाई भूमि दिएबापत । ओल्कोमा यो नै खाद्य पदार्थ दिनुपर्ने भनेर तोकिएको हुँदैनथ्यो । जोसँग जे उपलब्ध छ, त्यही पठाइन्थ्यो । भदौदेखि चाडबाड सुरु हुन्छन् किनकि रोप्ने गोड्ने काम सकिन्छ । मकैबारीमा मकै र काँक्रो टिप्न सुरु गरिन्छ । एक किसिमको उत्सवमय महिना पनि हो भदौ । त्यसैले आफ्ना मान्यजनलाई उल्लासको सौगातस्वरूप पनि ओल्को पठाइन्छ । ओल्केलाई जेठो पर्व मानेसँगै त्यही महिना गौरा, कृष्णजन्माष्टमी, रक्षाबन्धन, हरितालिका तिज जस्ता पर्व निरन्तर परिरहेका हुन्छन् । भदौ पर्वैपर्वको महिना पनि हो । भदौको मात्र नभई बर्खापछिको वर्षभरिको जेठो पर्व हो ओल्के ।

 

Author

कैलाशकुमार पाण्डेय