• १६ भदौ २०८१, आइतबार

रमाइलो गाईजात्रा

blog

हामी संस्कृतिमा निकै धनी छौँ र हाम्रा रीतिरिवाजमा विविधता पाइन्छ । धार्मिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक रूपले महìवपूर्ण एवं रमाइलो जात्रा पनि हो गाईजात्रा । वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर लग्ने व्यक्तिलाई आआफ्ना इलाकामा परिक्रमा गराउने र गाईजात्रा पठाउने घर घरबाट थरीथरीका रोटी, फलफूल पैसा आदि राखेर वर्षको ३६५ दिनको हिसाबले ३६५ प्याकेट बनाएर अन्य सहभागीलाई बाँड्न बस्छन् । अन्य श्रद्धालुद्वारा पनि गच्छे अनुसार दुध, फलफूल, जुस, रोटी, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

जनैपूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण शुक्ल प्रतिपदाका दिन मनाइने पर्वलाई गाईजात्रा भनिन्छ । १५ औँ शताब्दीको गोपालराज वंशावली र मल्लकालीनमा लेखिएको ‘ठ्यासफू’ मा समेत ‘सायात’ शब्दको उल्लेख भएबाट प्राचीनकालदेखि नै यो पर्व मनाइँदै आएको प्रमाणित हुन आउँछ । नेपाल भाषाको ‘सायात’ (सापारु) शब्दको अर्थ नेपालीमा ‘गाईजात्रा’ अर्थ लगाइन्छ ।

कुनै पनि चाडपर्वको चलन आफ्नै मौलिक इतिहास, कथन र किंवदन्ती जोडेर आएको हुन्छ । यो जात्रा निकाल्ने चलन कहिलेदेखि सुरु भयो भन्ने तिथिमिति निश्चित नभए पनि एक भनाइ अनुसार राजा प्रताप मल्लका (विसं १५१२) समयमा उपत्यकामा बिफरको महामारी फैलिएको थियो । त्यसै महामारीले थुप्रै जनताको मृत्यु हुन पुग्यो र त्यसै क्रममा प्रताप मल्लका कान्छो छोरा चक्रवर्तेन्द्र मल्लको समेत मृत्यु भयो । यही छोराको मृत्युका कारण चिन्तित र व्याकुल रानीलाई ‘मानिसहरू अन्यत्र पनि मरेका छन् र मर्छन्’ भनी देखाएर चित्त बुझाउन खोज्छन् । यसरी राज्यमा वर्ष दिनभित्र मृत्यु भएका नागरिकको नाउँमा तिनका आफन्तले गाईजात्रा निकाली नगर परिक्रमा गराउन राजाले हुकुम जारी गरेका थिए ।

जुन घरमा महिला र पुरुष मरेको हुन्छ । त्यस घरबाट गाई र जोगीको भेषमा निकाल्नुपर्ने घोषणा गरेबाट हरेक घरले नगर परिक्रमा गर्नुपर्ने भयो र साथै त्यससँगै विभिन्न किसिमका झाँकी, नृत्य र बाजागाजासमेत समावेश गर्नुपर्ने देखियो । जात्रामा भाग लिने सबै टोली राजाको दरबारको बाटो (हनुमानढोका) भएर नगर घुम्नुपर्ने आदेश भएको थियो । यही प्रचलन आजसम्म पनि चलिरहेकै छ । मान्छेको जीवन चिरस्थायी छैन भन्ने कुरा तत्कालीन रानीलाई बुझाउन सफल नभएका राजाले यो पर्व चलाएर आफ्नो उद्देश्यमा सफल भएका देखिन्छन् ।

गाईजात्रा गर्ने चलन राजा प्रताप मल्लकै पालादेखि सुरु भएको देखिए पनि मान्छे मरेको नाउँमा गाईजात्रा निकाल्ने परम्परा गोपालराज वंशावली अनुसार भक्तपुरका राजा जयस्थिति मल्लको शासनकालमा नेसं ५०० (विसं १४३७) मा नै सुरु भइसकेको देखिन्छ । गाईपालक गोपालराज वंशीको प्राचीन थलो रहेको थानकोट, बलम्बु, टिस्टुङ, कीर्तिपुर आदि स्थानमा प्रचलित गाईजात्रा ज्यादै पुरानो र प्राचीन मानिन्छ । अझ बौद्ध परम्परा अनुसार मरेका आफन्तको नाममा गाईजात्राको भोलिपल्ट पाटनको मङ्गलबजारमा निस्कने मतयाः जात्रा राजा गुणकामदेवको राज्यकालमा नै सुरु भइसकेको देखिन्छ । 

गाईजात्राको सम्बन्धमा सिल्भाँ लेभीले आफ्नो पुस्तक हिन्दु अधिराज्यको इतिहास ‘नेपाल’ मा लेख्छन्– भाद्र पद (अगस्त–सेप्टेम्बर) मा गाईजात्रा सुरु हुन्छ । गाईको मखुन्डो, माला इत्यादि लगाएका मानिस बाटा बाटामा नाच्छन् र गाउँछन् । नेवार परिवारको कुनै सदस्य वर्ष दिनभित्र मरेको छ भने त्यो परिवारले कुनै मानिसलाई गाई बनाई बाहिर पठाउँछन् । गाईको पछि पछि कुमारी पनि हुन्छिन् । भोलिपल्ट गाईको ठाउँमा बाघको मखुन्डो लगाई जात्रा निस्कन्छ र यो जात्रालाई व्याघ्रा जात्रा भन्दछन् । 

राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन । संस्कृतकर्मी प्राडा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रूपमा विकास भएको हो ।

बौद्ध साहित्यको ललितविस्तरमा गाईजात्राबारे केही प्रसङ्ग लेखिएको पाइन्छ, गौतम बुद्ध तपस्या गरी बसेका बखत उहाँको तपस्या भङ्ग गर्न भनी क्लेश, मृत्यु र देवस्कन्धहरूले विभिन्न पहिरन एवं रूपमा आएर तपस्याबाट विमुख पार्ने प्रयास गरे तर कसैको केही नलागेपछि भागेका थिए । त्यसपछि देवतागण बुद्धको दर्शन गर्न भनी आए तर चार दिनसम्म कुरेर मात्र दर्शन गर्न पाए । ललितविस्तरका आधारमा गाईजात्राको परम्परा पुरानो हो भन्ने बुझिन्छ तर मध्यकालमा यसको स्वरूपमा परिवर्तन आएको   हुन सक्छ । यस्तै लिच्छविकालको अभिलेखमा गौयुद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि गाईजात्रा मनाइन्थ्यो भन्ने केही इतिहासविद्को भनाइ रहेको छ । 

इतिहासविद्का अनुसार काठमाडौँमा भन्दा पहिले भक्तपुरमा गाईजात्रा पर्व मनाउने गरिएको थियो । यो जात्रा भक्तपुरमा भने आठ दिनसम्म मनाइने परम्परा छ । जनैपूर्णिमाको साँझ सुकुलढोकास्थित नाट्येश्वरी मन्दिरमा पूजा गरेपछि धाँ बाजा, तःबाजा, धिमय् बाजाको संयुक्त तालमा घिन्ताङघिसीले भक्तपुर सहर परिक्रमा गरेसँगै सुरु हुने गाईजात्रा कृष्णाष्टमीका दिन सम्पन्न हुन्छ । भक्तपुरको गाईजात्राको मुख्य आकर्षण भनेकै घिन्ताङघिसी नाच हो । विशेष गरी घिन्ताङकिसीमा केटाक्रेटी र युवकयुवतीको समूह शरीरमा अनेक रङ पोती, बेढङ्गका लुगा लगाई अरूलाई बढी हँसाउने गर्छन् । त्यस्तै उनीहरू हातमा विभिन्न ज्यावल लिई त्यसलाई आपसमा ठोक्काउँदै अनौठो र रमाइलो किसिमले नाच्दै नगर परिक्रमा गर्छन् ।

यस्तै हरियो चार वटा बाँसलाई ठाडो पारेर आयताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ जुन करिब १५ फिट लामा हुन्छन् । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने साथै मृतकको तस्बिरसमेत राखेर छाता ओढाइन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । त्यसले जात्रा हेर्न आएकालाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्दछ । संस्कृतिकर्मी प्राडा श्रेष्ठका अनुसार भक्तपुरकै तालाकोस्थित कुमालेले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । उनीहरूले आफ्नै मौलिक पुख्र्यौली पेसा अन्तर्गतको माटोका आकर्षक गाई बनाएर नगर परिक्रमा गराउने गर्छन् । गाईसँगै मृतकको स्मृति झल्काउने करुणरस प्रधान गीतिलीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ ।

भक्तपुरमा गाईजात्रा निकाल्ने परम्परा गोपालराज वंशावली अनुसार राजा जयस्थिति मल्लको शासनकालमा नै सुरु भइसकेको देखिन्छ । ललितपुरमा भने बौद्ध परम्परा अनुसार मरेको आफन्तको नाममा गाईजात्राको भोलिपल्ट निस्कने मतयाः जात्रा राजा गुणकामदेवको राज्यकालमा नै सुरु भइसकेको  देखिन्छ । कीर्तिपुरमा मनाइने गाईजात्रा अन्यत्रको भन्दा अलि भिन्न रहेको पाइन्छ । यहाँ मृतकको नाममा र नयाँ घर बनाएको उपलक्ष्यमा गाई निकाल्ने चलन छ । प्रताप मल्लको पालादेखि सुरु भएको मानिए पनि स्थानीय संस्कृतिविद् यो जात्रा लिच्छविकालदेखि नै यस क्षेत्रमा प्रचलनमा आएको दाबी गर्नुहुन्छ । यहाँको गाईजात्राको मुख्य विशेषता अथवा भिन्नता भन्नु सुकेको छालालाई गोलाकार बनाई घिसारेर ल्याउने गरिन्छ, जसलाई धाकः लुइगु भनिन्छ । यस कार्यमा संलग्न हुने पात्रहरू बाजा बजाउँदा र नाच्दा निस्कने आवाज र नाचलाई नै धेँधँपापा (कसै कसैले ‘झ्याँ झ्याँ पापा’ पनि भनिन्छ) नाम दिइएको छ । मुख्यतः नाचको अग्रपङ्क्तिमा विभिन्न मखुन्डो लगाएका र अनेक प्रकारका सामान बोकेका नर्तकहरू र पछि पछि घरमा आफन्तजनको मृत्यु भएको परिवारका सदस्यले सहभागिताले नगर परिक्रमा गरिन्छ । यहाँ गाईजात्राको प्रमुख आकर्षण पनि यही मानिन्छ । अन्यत्र मनाए जस्तै पशुपति देवपत्तनमा पनि गाईजात्रा मनाइन्छ । यहाँ तीन दिनसम्म लगाएर जात्रा मनाउने यो एक ठाउँ मात्र हो ।

हिजोआज काठमाडौँ उपत्यकाबाहिर पोखरा, पाल्पा, हेटौँडा, वीरगन्ज, नेपालगन्ज, धरान, धनकुटा, विराटनगर, बागलुङ, अर्घाखाँची आदि सहरमा पनि गाईजात्राको चलन पाइन्छ भने नेपालबाहिर आसाम, दार्जिलिङ र सिक्किममा बसोबास गर्ने नेवार समुदायले समेत केही वर्षदेखि गाईजात्राको प्रचलन सुरु गरेका छन् । यो परम्परा नेवार समुदायमा मात्र सीमित नभई अरू जातिले पनि गाईजात्रा निकाल्दै आइरहेका छन् । यस बखत विशेषतः व्यङ्ग्यात्मक, हास्यव्यङ्ग्य, नाटक मञ्चन, प्रहसन, गाईजात्रा पत्रिकासमेत प्रकाशित भएको हुन्छ । अनि सञ्चार माध्यमबाट हास्यव्यङ्ग्यको चाडपर्वका रूपमा मनाउने गरेको पाइन्छ । मृत्युवरण गरेकाले कसरी मोक्ष प्राप्त गर्छ भन्ने चिन्तन गरिने दिन भएको हुनाले यसको अर्थ दिवङ्गतको नाममा खुसी मनाएको कदापि होइन अर्थात् जात्रा गरिएको होइन । त्यसैले यस्तो संवेदनशील विषयलाई अर्थको अनर्थ लाग्ने गरी गरिएको नामकरणप्रति समयमै सजग एवं सचेत हुनुपर्ने देखिन्छ ।  

Author

त्रिचन्द्र प्रतीक्षा