• १६ भदौ २०८१, आइतबार

मन्त्रीहरूको कार्यसम्पादन करार सम्झौता

blog

धर्बेन्द्र झा  

जनकपुरधाम,भदौ,१ गते । मधेश प्रदेशका मन्त्रीहरूले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सरकारका मन्त्रीहरू र मुख्यमन्त्रीबिचमा दुईपक्षीय सम्झौता भएको हो । कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारले जनतालाई प्रवाह गर्ने सेवालाई सहज, सरल र प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारद्वारा नीति र कार्यक्रममार्फत प्रतिबद्धता जनाएका कार्य सामयिक र व्यवस्थित कार्यान्वयन गरी नतिजामूलक कार्यसम्पादन गरेर यहाँको जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले मन्त्रीहरूलाई आफ्नो मन्त्रालयका कार्यसम्पादन सूचकहरू पहिचान गरी प्रयोग गर्न र मुख्य नतिजा क्षेत्रहरू निर्धारण गरी मापनयोग्य कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले यस्तो करारले मन्त्रीहरूलाई जिम्मेवार र जवाफदेही बनाउने विश्वास पनि व्यक्त गर्नुभयो । 

मधेश प्रदेशका श्रम तथा यातायातमन्त्रीबाहेक सबै मन्त्रीले कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । श्रम तथा यातायातमन्त्री एक कार्यक्रममा सहभागी हुन जनकपुरधामभन्दा बाहिर रहेकाले उहाँ फर्केपछि कार्यसम्पादन करार सम्झौता गर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो ।