• ४ जेठ २०८२, आइतबार

मधेश प्रदेशमा ग्लोबल गर्ल क्रिएटिंग चेन्ज परियोजना सुरु

blog

मधेश प्रदेशमा ग्लोबल गर्ल क्रिएटिंग चेन्ज परियोजनाको शुभारम्भ कार्यक्रममा सहभागी। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, साउन ३२ गते। मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद ज्यसवालले नागरिकको जिवन र जिविकामा परिवर्तन ल्याउने किसिमले काम गर्न गैर सरकारी संघ संस्थालाई आग्रह गर्नुभएको छ। 

मधेश प्रदेशको आठ जिल्लामा शुक्रबारदेखि संचालन भएको ग्लोबल गर्ल क्रिएटिंग चेन्ज परियोजनाको शुभारम्भका लागि नेपाल सरकारको सहकार्यमा रेष्टलेस डिभलपमेन्ट र लाइफ नेपालले मधेश प्रदेशको राजधानी जनकपुरधाममा संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले गैर सरकारी संघ संस्थाले समाज परिवर्तनका लागि खेल्दै आएको भूमिका महत्वपूर्ण भएको भन्दै अब मधेश प्रदेशको राजनीतिक र आर्थिक रुपान्तरणमा गैर सरकारी संघ संस्थाले योगदान गर्नु पर्नेमा जोडदिनुभयो। मानव सूचकांकको दृष्टीकोणले अन्य प्रदेशको तुलनामा मधेश प्रदेश निकै पछाडि रहेको भन्दै मन्त्री ज्यसवालले मानव सूचकांकलाई सुधार गर्ने काममा हामी सबै लाग्नुपर्ने बताउनुभयो। 

उहाँले गैरसरकारी संघ संस्थाले संचालन गरेका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले नीतिगत रुपमा गर्न सकिने सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै मधेश प्रदेशले अन्य प्रदेश भन्दा पहिले बालिका संरक्षण ऐन ल्याएको जानकारी गराउनुभयो। उहाँले उक्त ऐन ल्याएर प्रदेश सरकारले बेटी जिन्दावादको क्याम्पेन नै चलाउने तयारी गरिरहेको बताउनुभयो। लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो शुभारम्भ समारोहमा रेष्टलेस डिभलपमेन्टका कार्यक्रम प्रबन्धक समिता महर्जनले परियोजनाको बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो।

 धनी तथा विकसित देशकोका कारण हामी नागरिकलाई भैरहेको जलवायु अन्यायको विरुद्धमा विश्वव्यापी सहकार्य मार्फत अवाज उठाउनको लागि सुरुवात भएको उक्त परियोजनाले किशोरी तथा महिलाको नेतृत्वमा हुने समावेशी जलवायु नीति र यसको प्रभावकारी कार्यन्वयनको लागि तथ्यमा आधारित अभियानलाई उत्थान गर्ने लक्ष्य लिएको कार्यक्रममा जानकारी गराइएको थियो। 

मधेश प्रदेशमा रेष्टलेस डिभलपमेन्टले समाजिक संस्था जिल्ला समन्वय समिति र लाइफ नेपालको सहकार्यमा र्गल च्याम्पियन्स मार्फत परियोजना संचालन गर्ने लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनु भयो। लाइफ नेपालले धनुषा, महोतरी, सिरहा र सप्तरी र समाजिक संस्था जिल्ला समन्वय समितिले सर्लाही ,रौतहट,बारा र पर्सा जिल्लामा उक्त परियोजना संचालन गर्ने जानकारी दिइएको छ ।