• ११ मंसिर २०८१, मङ्गलबार

कोशी प्रदेशको ६० उपलब्धि

blog

मुख्यमन्त्री हिक्मतकुमार कार्की

विराटनगर, साउन ३२ गते । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गठन भएको कोशी प्रदेश सरकारले एक सय दिन पूरा गरेको छ । सय दिन पूरा गरेको सन्दर्भमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी यस अवधिमा भएका प्रमुख ६० उपलब्धि सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले विगतमा सुरु गरेका कतिपय आयोजनाहरु यस अवधिमा सम्पन्न भएका विषयहरुलाई सरकारले उपलब्धिको रुपमा उल्लेख गरेको छ । विशेष गरी सिधुवा– शुक्रबारे–ओख्रे जोड्ने १३ किलोमिटर लामो प्रदेशस्तरीय सडकको निर्माण सम्पन्न भई सञ्चालनमा आएको, सुनसरीको सर्दु खोलाको पुल निर्माण सम्पन्न भएको र थुप्रै निर्माणाधीन आयोजनाहरुलाई गतिका साथ सञ्चालनमा लगिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश प्रतिको नकारात्मक धारणा जबरजस्त स्थापित गर्ने प्रयत्न भइरहेको बेलामा कोशी प्रदेशले सडक पूर्वाधारतर्फ उल्लेख्य प्रगति गरेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

‘‘प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन पहिले सुरु भएर आपनो कार्यकालमा सम्पन्न भएका योजनाहरुलाई हामीले उपलब्धीको रुपमा सार्वजनिक गरेका छौं, यी सय दिनमा सुरु गरेर सम्पन्न भएका योजना होइनन् तर यस अवधिमा सम्पन्न भएका हुन्, यसले प्रदेश सरकारले विकास निर्माणको काममा प्रगति गरिरहेको छ भन्ने सन्देश दिएको छ ।’’

मुख्यमन्त्री कार्कीले आउँदो २०८२ साललाई प्रदेश पर्यटन वर्ष घोषणा गरी तयारी अगाडि बढाइएको, प्रदेश राजधानी विराटनगरको व्यस्त रहने वरगाछी चोकमा ट्राफिक लाइट जडान गरिएको, भेटनरी अस्पताल जिल्लाहरुमा विस्तार गरेको आदि कार्य सय दिनभित्र भएका उपलब्धि भएको बताउनुभयो ।

वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले धनकुटाको भेडेटारमा प्रदेश योजना आयोगको समन्वयमा स्काई वाक स्थापना गरी पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण काम गरेको पनि जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारले गरेका कामहरू सही ढगले जनतामाझ प्रचारप्रसार नभएको भन्दै पर्याप्त सूचना अभावमा नकारात्मक धारणाहरु विकास हुन थालेकाले सरकारले गरेका प्रगतिहरुलाई सार्वजनिक गरेको उहाँले जानकारी दिनुभयो ।

कोशीलाई पूर्णखोप प्रदेश घोषणा गरेको, सुनसरीको हरिनगरमा प्रदेशस्तरीय सडक निर्माण सम्पन्न गरेको आदि कार्यलाई पनि यस अवधिको उपलब्धिको रुपमा चर्चा गर्नुभयो ।

यसैगरी, मुख्यमन्त्री कार्यालयमा प्रदेशवासीको गुनासो सुन्न ‘हेल्लो सिएम’ कार्यक्रम आरम्भ गरेको, विपद् सूचनापोर्टल सञ्चालनमा ल्याएको, प्रदेशका पाँच पालिकामा उद्यमशीलता कार्यक्रम सुरु गरेको, अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी गरिरहेको, प्रदेश जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको आदि कार्यलाई उपलब्धिको रुपमा चर्चा गर्नुभएको छ ।

यस्तै, शान्ति सुरक्षातर्फ अस्थायी प्रहरी पोस्टहरु स्थापना गर्ने, धार्मिक पर्यटकीय क्षेत्रहरुको विकासका लागि पर्यटन विकास समिति गठन र विपदमा परेकाहरुलाई तत्काल उद्धार र राहत वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको विषयलाई पनि उपलब्धीको रुपमा स्थान दिइएको छ ।

सङ्खुवासभा र चीनसँग जोड्ने किमाथांङका नाका पनि आफ्नै कार्यकालमा भएको र त्यसले भोटखोला क्षेत्रका स्थानीय र सङ्खुवासभाका जनताका लागि समृद्धिको ढोका खोलेको उहाँले बताउनुभयो ।

यसबिचमा राजनीतिक दलहरुबिचको सत्ता गठबन्धनमा परिवर्तन आउँदा कोशी प्रदेशको सरकारमा साझेदारी गरेको दल नेकपा (माओवादी केन्द्र) साउन ११ गते सरकारबाट बाहिरिएको थियो । माओवादी सरकारबाट हटेको २१ दिन बितिसक्दा पनि नेपाली कांग्रेस सरकारमा सहभागी भएको नहुँदा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘‘माओवादी सरकारबाट बाहिरिएपछि कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ, हामी बिचमा मन्त्रालय बाँडफाँडको टुङ्गो पनि भइसकेको छ, तर के कारणले कांग्रेस सरकारमा सहभागी भइरहेको छैन त्यो कुरा मैले बुझेको छैन, सायद दुई चार दिनभित्रै आउनुहुन्छ होला ।’’