• १६ भदौ २०८१, आइतबार

सरकारले निराशालाई आशामा बदल्नुपर्छ : महासचिव पोखरेल

blog

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल ।

काठमाडौँ, साउन ३२ गते । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताउनुभएको छ ।  

ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सामाजिक सेवा विभागको १० औँ बैठकलाई सम्बोधन गर्दै उहाँले मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि एमाले र नेपाली कांग्रेस पार्टी मिलेर सरकार गठन गर्ने अवस्था आएको हो भन्नुभयो । उहाँले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको अवधारणा (मोडेल)मा पनि ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा पनि सरकारले ध्यान दिनुपर्ने र समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्छ भन्नुभयो । “बङ्गलादेश दक्षिण एसियामै नमुना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावनाबमोजिम सम्बोधन हुन नसक्दाको परिणाम बङ्गलादेश अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो ।

उहाँले समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई सुझाव दिनुभयो । एमालेका उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यले समाजमा देखिएका समस्या समाधान गर्न एमाले अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । सो अवसरमा निवर्तमान विभाग प्रमुख झपट बोहोराको बिदाइ र विभाग प्रमुखमा नयाँ जिम्मेवारी सम्हाल्नुभएका कल्पना चापागाईंलाई स्वागत गरिएको थियो । रासस