• १ भदौ २०८१, शनिबार

अरिङगल होमस्टे सञ्चालनमा

blog

गोरखाको सहिद लखन गाउँपालिका –४ ताक्लुङको बरालथोकस्थित थानीडाँडा गाउँमा स्थानीय मगर समुदायले सञ्चालनमा ल्याएको अरिङगल होमस्टे । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका     
सुलीकोट, साउन ३२ गते  । 
गोरखाको सहिद लखन गाउँपालिका–४ ताक्लुङको बरालथोकस्थित थानीडाँडा गाउँमा स्थानीय मगर समुदायले सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् । यही भदौ १ गतेबाट स्थानीय किसानहरूले गाउँमा उत्पादन गाउँमा नै बेच्नका लागि सामुदायिक अरिङगल होमस्टे सञ्चालनमा ल्याउन लागिएको समितिका अध्यक्ष उत्तम थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहिद लखन गाउँपालिका–४ ताक्लुङको बरालथोकस्थित थानीडाँडामा आउने पाहुनालाई मध्यनजर गर्दै अरिङगल सामुदायिक होमस्टेको सेवा दिन लागिएको अध्यक्ष थापाले बताउनुभयो । विशेष गरेर होमस्टेमा आउने पाहुनालाई अरिङगल र रुख कटहरको वाइनसहित रैथाने परिकार चखाउने उद्देश्यसहित सामुदायिक अरिङगल होमस्टे सञ्चालनमा ल्याउन लागिएको अरिङगल होमस्टे समितिका अध्यक्ष थापाको भनाइ छ ।

ताक्लुङ–४ थानीडाँडाका स्थानीय मगर समुदायहरु अरिङगल र कटहरबाट उत्पादन गरिएको वाइन चखाउने उद्देश्यले अरिङगल होमस्टे सञ्चालनमा ल्याउन लागेका हुन् । होमस्टे सञ्चालनका लागि नौ सदस्यीय समिति गठन गरी काम अघि बढिसकेको छ । अहिले स्थानीयहरू अरिङलको गोलाको प्रतिमा बनाउन व्यस्त छन् । अरिङगल गोला ६.५ गोलाई र ४ं.५ फिट लम्बाइको प्रतिमा बनाउन लागिएको समिति अध्यक्ष थापाले बताउनुभयो ।

‘‘२०५८ सालबाट व्यावसायिक रूपमा अरिङगलको खेती गर्दै आउनुभएका होमस्टेका अध्यक्ष उत्तम थापाको राम्रो आम्दानी छ ।,’’ वडा अध्यक्ष याम बहादुर थापाले भन्नुभयो, “गाउँमा १६ घरधुरीले अरिङगल पाल्नु भएकाले पाहुनालाई त्यही अरिङगलको स्वाद चखाउन अरिङगलसँगै रुख कटहरको वाइन, गुन्द्रुक, ढिँडो लगायतका स्थानीय परिकारको स्वाद पनि लिन पाउने छ ।”

यस वडामा अत्यधिक मात्रामा कटहर पाइने क्षेत्र भएकाले पनि वडा कार्यालयले कटहरको वाइन उत्पादनमा संयोजनकारी भूमिका निर्वाह गरेको छ । कटहरलाई लोकल वाइनको रूपमा उत्पादन गरी गाउँमा नै होमस्टे सञ्चालन सुरु गर्न लागिएको वडा अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।

होमस्टेमा आउने पर्यटकले मगर र चेपाङ समुदायको संस्कृत झल्कले झलकहरू पनि अवलोकन गर्न पाउने भएका छन् । मगर समुदायको ८० प्रतिशत बसोबास रहेको उक्त ठाउँमा २० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ ।

मगर समुदायको संस्कृति झल्कने काठको खैँजडी र खुर्पेटेको ठुलो प्रतिमा समेत निर्माण भइसकेको वडा अध्यक्ष थापाले बताउनुभयो । त्यस्तै, चेपाङ समुदायको संस्कृति अन्तर्गत गिठा, भ्याकुर चिउरी, सिस्नु लगायतका परिकार पनि होमस्टेमा उपलब्ध हुने बताइएको छ । स्थानीय आफैँले रकम जुटाएर सामुदायिक अरिङगल होमस्टे सञ्चालनको तयारी गरिएको समितिले जनाएको छ । 

हाल जम्मा ५६ घर धुरीमध्ये १३ घर धुरीमा होमस्टे सञ्चालनको तयारी गरिएको छ । १३ घरले सञ्चालन गरेको होमस्टेमा ७० जना पाहुना राख्न सक्ने क्षमता छ । ताक्लुङा १३ घर परिवारले व्यावसायिक रूपमा वनबाट ल्याएर अरिङगल पालेर राम्रो आम्दानी गर्दे आएका छन् । यस होमस्टेले गाउँको विकासका लागि पनि टेवा पुग्ने विश्वास लिइएको छ ।