• ३२ साउन २०८१, शुक्रबार

हुलाकी सडकमा वृक्षरोपण सुरु

blog

हुलाकी सडकमा वृक्षरोपणपछि संरक्षणको लागि बाँसको खोप लगाउनुहुँदै प्रदेशसभा सदस्य जिवछी यादव । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, साउन ३२ गते । तराई मधेशको हुलाकी सडकको पूर्वमा सिरहा सप्तरीको सीमाना रहेको बलना नदी र पश्चिममा सिरहा धनुषाको सीमाना रहेको कमला नदीसम्म ३१ किलोमिटरमा वृक्षरोपण सुरु भएको छ । सिरहा नगरपालिका-१७ का जगीय जानकी प्रतिष्ठान सिरहा र डिभिजन वन कार्यालय लहान सिरहाले वृक्षारोपण सुरु गरेको हो ।

३१ किलोमिटरमा वन प्रजाति र फलफूल गरी दस हजार बिरुवा रोप्ने र बिरुवा संरक्षणको लागि बाँसको खोप समेत हाल्ने डिभिजन वन कार्यालयका प्रमुख सुजित कुमार झाले जानकारी दिनुभयो । प्रमुख झाका अनुसार आर्थिक वर्ष २०८०-८१ मा सिरहाका ६ वटा सवडिभिजन कार्यालयबाट अहिलेसम्म दुई लाख बिरुवा वितरण भैसकेको छ । एक व्यक्तिलाई २४ घण्टामा १६ किलो अक्सिजन( प्राणवायु) चाहिन्छ । एउटा बिरुवाले २ किलो अक्सिजन दिने गर्दछ । प्रति व्यक्ति सात वटाका दरले बिरुवा आवश्यक छ । व्यस्त सडकमा चल्ने सवारी साधनबाट उत्पन्न हुने ध्वनि (१०–१५ ) डेसिवल ध्वनि प्रदूषण समेत बोट बिरुवाले रोक्न कार्य गरिरहेको हुन्छ । 

तराई–मधेशका जिल्लाहरूमा खानेपानीको हाहाकार रोक्न र वातावरणीय जलवायु समस्या समाधानको लागि अहिलेसम्म बनेको ३७ वटा आयोगहरूले दिएको सुझाव अनुसार पानीको गर्भ गृह मानिएको चुरे क्षेत्रको संरक्षण गर्न चुरेलाई हराभरा बनाउन, नदीहरूबाट मापदण्ड विपरीतका गिटी ढुङ्गा र बालुवा निकाल्न नहुने र वनको अतिक्रमित गरेको वन क्षेत्रमा बनाएको बस्ती हटाउनुपर्ने, आगलागी र चरिचरणबाट वन जोगाउनुपर्ने प्रमुख झाले प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, "सिराहामा आएको एक वर्षमा ४२ किलोमिटर वन अतिक्रमित जग्गा खाली गराउन वृक्षरोपण र नदीबाट मापदण्ड विपरीतका गिटी बालुवा ढुङ्गा रोक्न अहोरात्र काम गरिरहेको छु ।"

वृक्षरोपण कार्यक्रममा सहभागी मधेश प्रदेशका प्रदेशसभा सदस्य जिवछी यादवले तराई मधेशको वनजङ्गल जोगाउन र थप वृक्षरोपण गर्न सिरहाका जगिया जानकी प्रतिष्ठान सिरहाका अध्यक्ष तथा वरिष्ठ लेखक एवम् समाज सुधारका अभियानकर्ता रामरिझन यादवले हुलाकी सडक निर्माण गर्न आफूले दबाब दिएकै कारण हुलाकी सडक निर्माण कार्य समयमा सिरहामा सम्पन्न भएको बताउनुभयो । अहिले हुलाकी सडकमा वृक्षरोपण गर्नु प्रशंसनीय मात्रै होइन, प्रेरणादायी समेत रहेको उहाँको भनाइ छ ।  

हुलाकी सडकमा औरही गाउँपालिकाले हुलाकी सडकमा पर्ने साढे ६ किलोमिटर क्षेत्रमा पन्ध्र सय बिरुवा रोपेको तथा नवराजपुर गाउँपालिका क्षेत्रमा पर्ने हुलाकी सडकमा वुक्षरोपण कार्यलाई यसै वर्ष सम्पन्न गर्ने नवराजपुर गाउँपालिका अध्यक्ष शिवउदगार यादवले प्रतिबद्धता गर्नुभयो । हुलाकी सडकमा पूवदेखि पश्चिमसम्म ३१ किलोमिटरमा भगवानपुर, नवराजपुर, बरियारपटि, औरही र सिरहा नगरपालिका छन् । 

वृक्षरोपण कार्यक्रममा सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले हुलाकी सडकमा वृक्षरोपण गर्दा विद्युतीय तार जडान हुँदापछि रुखविरुवा काट्नु नपर्ने गरी कुन प्रजातिको बिरुवा लगाउँदा उचित हुने विषयमा समेत अहिले नै सोच्नुपर्ने सुझाव दिनुभयो । वृक्षरोपण कार्यक्रमको अध्यक्षता सिरहा नगरपालिका–१७ का अध्यक्ष अशोक कुमार यादवले गर्नुभएको थियो । वृक्षरोपण कार्यमा सिरहा–१७ सन्हैठाममा रहेका माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरू समेत सहभागी भएका थिए ।