• ३२ साउन २०८१, शुक्रबार

डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो सरसफाइ अभियान

blog

काठमाडौँ, साउन ३२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । ‘स्वस्थ नेपाल र निरोगी नेपाली’का लागि स्वास्थ्य मन्त्रालयले हप्ताको एक दिन कार्यालय/घर सरसफाइ अभियान सुरु गरेको हो ।

निरोगी नेपाल बनाउने सङ्कल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर/कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन आमनागरिकसँग समेत आग्रह गरेको हो ।

शुक्रबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरू मिलेर मन्त्रालय सरसफाइमा जुट्नुभयो । मन्त्रालयबाट सुरु गरिएको अभियान सहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्‍याउने लक्ष्य मन्त्रालयको छ ।

अभियानबारे जानकारी दिनुहुँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरूलाई हेर्दा यस वर्ष सङ्ख्यात्मक रूपमा डेंगुको सङ्ख्या कम देखिए पनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाइ अभियान सुरु गरेको बताउनुभयो ।

डेंगु नियन्त्रण र न्यूनीकरणका लागि गत हप्तादेखि नै सङ्घीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाइ अभियान सुरु गरेको उहाँको भनाइ छ । उहाँले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिनुभयो ।

प्रवक्ता बुढाथोकीले भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि बताउनुभयो । हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाइको अभियान चलाउन आग्रह गर्नुभयो ।

प्रवक्ता बुढाथोकीले सरसफाइ अभियानले डेंगुमात्र नभई अन्य रोगहरू पनि नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउन सके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने सरकारको विश्वास छ । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्त गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

खोज र नष्ट विधि घरदेखि ठुला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरूको भनाइ छ । यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र सामुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरूको सुझाव छ ।

समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने चिकित्सकहरूको विश्वास छ ।