• ३२ साउन २०८१, शुक्रबार

थाइल्यान्डको फेउ थाई पार्टीद्वारा पेटोङ्टार्न सिनावात्रा प्रधानमन्त्री उम्मेदवार चयन

blog

पेटोङ्टार्न सिनावात्रा

बैङ्कक, साउन ३२ गते । थाइल्यान्डको फेउ थाई पार्टीले अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा छनोट गरेको छ ।

थाइल्यान्डको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको एक दिनपछि बिहीबार पार्टीले यो घोषणा गरेको हो ।

श्रेथा पार्टीको तेस्रो प्रधानमन्त्री हुनुहुन्छ र एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशमा पदमुक्त हुनुभएको छ ।

“हामीले पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री मनोनीत गर्ने निर्णय गरेका छौँ”, पार्टीका महासचिव सोरावोङ थिएन्थोङले बैंककमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

पेटोङ्टार्नलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने कि नगर्नेमा सांसदहरूले शुक्रबार संसदमा मतदान गर्नेछन् ।

थाई राजनीतिले दुई दशक लामो अस्थिरताको सामना गरेको छ । अस्थिरतालाई विद्रोह, सडक प्रदर्शन र अदालतको आदेशले चिह्नित गरेको छ । यो अवधिको अधिकांश समय थाक्सिनसँग सम्बन्धित प्रगतिशील पार्टीहरूविरुद्ध सेना र राजावादी समर्थक संस्थापनद्वारा लामो समयदेखि चलिरहेको सङ्घर्षले बढवा पाएको छ । रासस/एएफपी