• ३२ साउन २०८१, शुक्रबार

अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबिच भेट

blog

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुँदै नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौँ, साउन ३२ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ ।

शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गोमा पुर्‍याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति पक्रियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताउनुभयो ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिनुहुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताउनुभयो । उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्नुहुँदै जलवायु न्याय लगायतका क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले गोर्खाजहरूले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

भेटमा राजदूत फेनले अध्यक्ष प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाई दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधैँ सहयोग रहने बताउनुभयो ।

फेनले बेलायती नागरिकहरूमा नेपाली उत्पादनप्रति रुचि बढेको बताउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताउनुभयो। उहाँले प्रचण्डको कार्यकालमा लगानी अनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्राउन आफ्नो योगदान रहने बताउनुभयो ।

भेटमा राजदूत फेनले बेलायती प्रधानमन्त्रीको तर्फबाट उहाँको नयाँ कार्यकालका लागि प्रेषित बधाई सन्देशको लागि धन्यवादसहितको प्रेसित पत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्नुभयो ।