• ३२ साउन २०८१, शुक्रबार

रेबिजबाट दुईको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, साउन ३२ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ सात तलेमा रेबिजबाट दुई जनाको मृत्यु भएको छ । एक साता अवधिमा बागमतीका ३२ वर्षीय कमल नेगी र ९ वर्षीया रबिना थोकरको रेबिजबाट मृत्यु भएको बागमती गाउँपालिका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले बताउनुभयो ।  

गोलेले दिएको जानकारीअनुसार नेगीलाई ६ महिना अगाडि र थोकरलाई पाँच महिना अघि कुकुरले टोकेको थियो । बागमतीमा कुकुरको टोकाइबाट दुई जनाको मृत्यु भएपछि स्थानीय २६ जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

गत वर्ष मकवानपुरमा रेबिजबाट तीन जनाको मृत्यु भएको थियो । मकवानपुरगढीमा एक जना र उत्तरी मकवानपुरको थाहा नगरपालिकामा दुई जनाको मृत्यु भएको थियो । 

पशुबाट मान्छेमा सर्ने जुनोटिक रोगबारे बताउँदै प्रायः भुस्याहा कुकुर, स्याल, चितुवा, बँदेल, चमेराबाट रेबिज सर्ने गरेको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो ।