• ३२ साउन २०८१, शुक्रबार

डोटी दुर्घटना अपडेट: १७ जना घाइते (विवरण सहित)

blog

केशवचन्द्र महरा

दिपायल, साउन ३२ गते । डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ समूहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार दुर्घटनामा चालक सहित १७ जना घाइते भएका छन् ।

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४९१ नम्बरको रात्रि बस शुक्रबार बिहान ४ः २० बजे दुर्घटना भएको हो । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।  

धनगढीबाट बुधबार जिल्लाको केआइसिंह गाउँपालिका वायलका लागि छुटेको रात्रि बस दुर्घटना भएको हो । बस सडकबाट स्थानीयको घर माथि खसेको थियो । घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १६ जना बसमा सवार यात्रुहरू हुन् भने एक जना घरमा सुतिरहेकी महिला हुन् ।

दुर्घटनामा सायल गाउँपालिका–४ का २४ वर्षीय इन्द्र बोगटी, सोही ठाउँका ८२ वर्षीय तेज बहादुर सिंह, ६८ वर्षीय हर्क बहादुर सिंह र ५६ वर्षीय लालवीरे भुल घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सायल गाउँपालिका–३ का ४० वर्षी दल बहादुर बयाडी, पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहका २१ वर्षीय हिक्मत बिक, बोगटान फुड्सिल गाउँपालिका–६ पलाडीका ३५ वर्षीय देव बोगटी घाइते भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–१ तिखाकी ४० वर्षीया डम्बरी खड्का, दिपायल सिलगढी नगरपालिका–४ राजपुरका ३८ वर्षीय डिल बहादुर नेपाली, , दिपायल सिलगढी नगरपालिका–६ का २९ वर्षीय भेषराज धामी पनि घाइते भएका छन् ।

आदर्श गाउँपालिका–४ भुवाका ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय  सन्तोष बोहरा र आदर्श गाउँपालिकाकै वडा नं १ का २३ वर्षीय प्रकाश खड्का, डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ की २१ वर्षीया सविता देउवा घाइते भएको प्रहरीले जनाएको छ ।

बस चालक शिखर नगरपालिका–१० का २८ वर्षीय भरत रावल र बसका साहु केआईसिंह गाउँपालिका–२ का ४६ वर्षीय कमल विक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घरमाथिबाट बस खस्दा घरमा सुतिरहेकी स्थानीय ५० वर्षीया सरूँ नेगी पनि घाइते भएकी छिन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । गडीको प्रेसर पाइप फुटेका कारण उकालोमा ब्रेकले काम नगर्दा दुर्घटना भएको चालक रावलले बयान दिएका छन् ।

घाइतेहरूको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका बिरामीहरूलाई थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।