• ३२ साउन २०८१, शुक्रबार

सहकारीको रकम ठगी आरोपमा दुई जना पक्राउ

blog

राधाकृष्ण डुम्रे

वालिङ, साउन ३२ गते । सहकारीको रकम अपचलन गरेको आरोपमा स्याङ्जामा दुई जना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम पुतली बजारको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारीको सेवा केन्द्रबाट रकम हिनामिना गरेको भन्दै दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बिरुवा गाउँपालिकामा रहेको सहकारीको सेवा केन्द्रका अध्यक्ष तारेन्द्र बहादुर केसी र मुक्तिनाथ विकास बैङ्क बिरुवा शाखाका कस्टमर सर्भिस विभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।  

सहकारीको ३ करोड ६६ लाख रकम हिनामिना भएको भन्दै सहकारीका प्रमुख व्यवस्थापक ध्रुव नारायण श्रेष्ठ तथा बचतकर्ताहरूले प्रहरीमा उजुरी गरेका थिए । उजुरीका आधारमा छानबिन गरेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले दुई साता अगाडि बिरुवा सेवा केन्द्रका तत्कालीन व्यवस्थापक जीवन वाग्लेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । वाग्लेको बयानका आधारमा प्रहरीले सेवा केन्द्रका अध्यक्ष केसी, सचिव सूर्यबहादुर कुँवर र मुक्तिनाथ बैङ्कका कर्मचारी भण्डारीलाई पक्राउ गर्न जिल्ला अदालतसँग अनुमति मागेको थियो । अदालतको आदेश अनुसार केसी र भण्डारीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । कुँवर भने पक्राउ परेका छैनन् । कुँवर हाल बिरुवा गाउँपालिकाका अध्यक्ष समेत रहनुभएको छ ।