• १६ भदौ २०८१, आइतबार

देशभर मनसुनी वायुको प्रभाव कायम, कम वर्षा हुने

blog

काठमाडौँ, साउन ३२ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । 

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यसैगरी आज राति देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै   बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा  धेरै पानी पर्ने सम्भावना छ । 

आगामी २४ घण्टामा सबै प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।