• ११ मंसिर २०८१, मङ्गलबार

तरकारी खेतीले रोक्यो बसाइँसराइ

blog

धनकुटाको उच्च क्षेत्रमा काम गर्दै कृषक ।

कविराज घिमिरे 

हिले, साउन ३२ गते । धनकुटाका धेरै गाउँबस्ती युवाविहीन हुँदा जिल्लाको छथर जोरपाटी गाउँपालिका–२, फलैँचाका युवा भने गाउँघरमै भेटिन्छन् । उनीहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् भने साँझबिहान घरको काम गरिरहेको भेटिन्छन् । गाउँमा भर अभर पर्दा सँगै हुन्छन् । 

फलैँचा र सो आसपासका क्षेत्रबाट न त कोही वैदेशिक रोजगारीमा गएका छन् न त कसैले बढी सुखसुविधाको खोजीमा बसाइँ सरेका छन् । यहाँका युवा गाउँमा हुने तरकारी खेतीमा नै मस्त छन् । उनीहरूमा विदेशको मोह खासै देखिँदैन । 

स्थानीय चन्द्रकुमार सारूमगर यति बेला तरकारी खेतीमै व्यस्त हुनुहुन्छ । आलु बाली उठाएर उहाँ अहिले बन्दाकोपी, फूलकोपी तथा मटरकोसा लगाउने योजनामा हुनुहुन्छ । उहाँले पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामी एक वर्षमा तीन बालीको उत्पादन लिन्छौँ । बजारमा उत्पादनले मूल्य पाउँदा पाँच रोपनी जमिनबाट वार्षिक सात लाख रुपियाँसम्म आम्दानी हुन्छ । विदेश जाने वा बसाइँ सरेर अन्यत्र जाने कुरा त सोच्न पनि सकिन्न । यस्तो स्वर्ग छाडेर जानु भनेको त दुःख पाउनु हो ।”

गाउँमा कृषिकर्म गर्ने चन्द्रकुमार मगर एक्लै हुनुहुन्न । गाउँका अधिकांश युवा कृषिकर्ममै व्यस्त हुन्छन् । युवासँगै काम गर्न सक्ने बुढापाका तथा स्कुले बालबालिकासमेत बिदाको बेला आफ्नै खेतबारीमा व्यस्त रहन्छन् । धनकुटाको त्रिसुले, गुराँसे तथा फलैँचा आसपासको क्षेत्रमा करिब तीन सय परिवारको बसोबास छ । अधिकांश मगर समुदायका छन् । 

जिल्लाकै तेलिया, कुरुले, चुमाङ, चानुवा, लेगुवाका कतिपय बस्ती नै रित्तिँदा यो क्षेत्र भने हराभरा छ । सो क्षेत्रबाट एक/दुई परिवारबाहेक कोही पनि बसाइँ नसरेको स्थानीय इन्द्र सारूमगर बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा कुल पाँच हजार ५९७ हेक्टर क्षेफलबाट एक लाख ३७ हजार ४४७ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । त्यसमध्ये तीन हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रमा मात्र तरकारी खेती हुने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उच्च क्षेत्रमा आलुसहित फूलकोपी, बन्दा, मुला र मटर आदि उत्पादन हुन्छ । यसले धनकुटाको आधाभन्दा बढी उत्पादन ओगट्छ ।” धनकुटाका उच्च क्षेत्रका करिब १५ हजार परिवार तरकारी खेतीमा आबद्ध छन् । यो क्षेत्रबाट वार्षिक करोडौँ मूल्य बराबरको तरकारी बाली तराईको झापा, मोरङ, सुनसरीसहित भारतका सीमावर्ती बजारसम्म पुग्छ । 

सिप्रेडले सिकाएको तरकारी खेती 

त्यसो त यो क्षेत्रमा तरकारी खेतीको इतिहास त्यति लामो भने छैन । कुनै समय बाह्रै महिना घँगौरु र चुथ्रो घारीले छोपिने धनकुटाको माथिल्लो भेगका नागीडाँडा यति बेला भने बाह्रै महिना तरकारी खेतीले ढाकिने गरेका छन् । कृषिसम्बन्धी काम गर्ने गैरसरकारी संस्था सिप्रेडको सहयोगमा २०६० देखि यस क्षेत्रमा व्यावसायिक तरकारी खेती सुरु भएको हो । यो संस्थाले २०५१ सालदेखि यहाँ तरकारी उत्पादन गर्न प्रोत्साहन गरेको थियो । 

त्यही अनुसार कृषकले उत्पादनसमेत सुरु गरे तर बजारको समस्या भएपछि पुनः यहाँको कृषि उपजको उत्पादन घट्यो तर फेरि २०५९ सालबाट उत्पादित तरकारी भारत निकासी हुन थालेपछि भने यहाँ तरकारीको व्यावसायिक उत्पादन सुरु भएको इन्द्र सारूमगर बताउनुहुन्छ । 

दुई दशकअघिसम्म आलु मात्र उत्पादन हुने यो क्षेत्रका स्थानीय आलु बोकेर चामल साट्न बेँसी झर्ने गर्थे । गुराँसेका ५५ वर्षीय गोविन्द सारूमगर लामो समयसम्म आलुसँग धान साटेर जीविकोपार्जन गरेको स्मरण गर्नुहुन्छ । तर करिब दुई दशकयता भने समय फेरिएको छ । अहिले धान साट्न बेँसी झर्नु पर्दैन । तरकारी तथा आलुको बिउ खोज्दै बेँसीका बासिन्दा उच्च क्षेत्रतिर आउने गरेको मगर बताउनुहुन्छ । 

अर्मपर्मले कामदार अभाव हुँदैन

कामदार अभावका कारण पछिल्लो समय जग्गा बाँझिने क्रम बढ्दो छ तर यो क्षेत्रमा भने कामदारको कुनै समस्या छैन । यहाँको ‘अर्मपर्म’ परम्पराले सबैको खेती धानिँदै आएको छ । अर्मपर्म गरेरै सबैले जग्गमा बाली लगाउन, गोड्न र बाली उठाउन सकिने छथरजोरपाटी गाउँपालिका–२, फलैँचाकी कान्छीमाया शेर्पा बताउनुहुन्छ ।