• १६ भदौ २०८१, आइतबार

वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ’

blog

वरिष्ठ पत्रकार भैरव रिसाल । फाइल तस्बिर

सिबी अधिकारी

काठमाडौँ, साउन ३१ गते । बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै हुनुहुन्थ्यो । एकछिनको भलाकुसारीपछि उहाँले लामो लेखका केही हरफ पढेर सुनाउन थाल्नुभयो । मङ्गलबार नै वरिष्ठ पत्रकार रिसालले जन्मदिन थियो । उहाँ ९७ वर्षमा टेक्नुभयो । 

घरमा जन्मदिनको शुभकामना दिन आउनेको लर्को नै थियो । तर पत्रकार रिसाल भने भक्तपुरको दधिकोटको ऐतिहासिक ‘चरखण्डी’ जात्राबारे लेखन र अध्ययनमै  सक्रिय हुनुहुन्थ्यो । “हातले कलम राम्रोसँग समात्न सकिन्न, थकान भइरहन्छ, आँखाले राम्रोसँग देख्न नसक्दा लेख पढ गर्न गाह्रो हुन्छ, तर पनि लेख्न र पढ्न मन लागिरहन्छ, एक मुठी श्वास रहुन्जेल यो कामलाई निरन्तरता दिन्छु, बुढो भए भनेर कहिल्यै हरेस खानुहुँदैन”, पत्रकारिताको जीवन्त इतिहासका साक्षी रिसालले उत्साहित हुँदै भन्नुभयो । 

पत्रकारितामा ‘पायोनियर’वरिष्ठ पत्रकार रिसालले आधुनिक पुस्तालाई सन्देश दिँदै भन्नुभयो, “पत्रकारितामा इमान्दारिता डगमगाएको छ, पत्रकारिता पत्रकारिताकै रूपमा रहिरहोस् । आजको पत्रकारिता पत्रकारितै भएर बाँचोस् । पत्रकारितामा सक्रियता र इमान्दारिताको खाँचो छ । पेसाप्रतिको इमान र निष्ठा हराउँदै गएको छ ।” निष्ठापूर्ण पेसागत अभ्यास र इमानको पर्यायवाची नाम हो भैरव रिसाल । उहाँको पत्रकारिताप्रतिको समर्पणमा आजका दिनसम्म पनि कमी आएको छैन । जीवनको उत्तरार्धमा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ ।

रिसालको यो सक्रियता आधुनिक पुस्ताका पत्रकारका लागि अनुकरणीय र प्रेरणादायी छ । सन्तानब्बे वर्षीय रिसालले कत्ति पनि हिम्मत हार्नुभएको छैन । उहाँको इच्छा, साहस र जोस जागर अटल छ । शारीरिकरुपमा निकै कमजोर भइसक्दा पनि उहाँमा पेसाप्रतिको हुटहुटी उस्तै छ । जोस, जागर युवापुस्ताको भन्दा कम छैन ।

शुभेच्छुकबिच रिसाल

यही साउन २९ गते मङ्गलबार वरिष्ठ पत्रकार रिसाल परिवार, आफन्त र शुभेच्छुकको भिडभाडमा हुनुहुन्थ्यो । त्यसदिन अबेर साँझसम्म उहाँलाई जन्मदिनका अवसरमा दीर्घायुको शुभेच्छा थाप्न भ्याइनभ्याई थियो । परिवार, आफन्तदेखि विशिष्ट व्यक्तिहरूले वरिष्ठ पत्रकार रिसालको घरमै पुगेर शुभेच्छा प्रकट गरे । जन्मदिनको दिन पहिलो प्रहरमा जेठी छोरी सुष्मा सापकोटाले फोन गरेर बुबाको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभयो । 

त्यसपछि छोरीहरू र नजिकका आफन्त घरमा आएर मिष्टान्न परिकार र भोजनसहित जन्मदिन मनाए । दिनभर शुभेच्छुकहरूले आशीर्वाद दिनुभयो । साँझ पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेल वरिष्ठ पत्रकार रिजालाई जन्मदिनको शुभकामना दिन उहाँको घरमै आउनुभयो । “निष्ठावान् र इमान्दार व्यक्तित्व पत्रकार रिसाल एक सच्चा वामपन्थी आन्दोलनको योद्धा नै हुनुहुन्छ”, उहाँले रिसालको प्रशंसा गर्दै भन्नुभयो, “उहाँले मर्न लागेको पत्रकारितालाई बचाउनुभएको छ ।” 

राजनीतिप्रति खासै टिप्पणी गर्न नचाहने वरिष्ठ पत्रकार रिसाल पत्रकारितालाई जागिरका रूपमा लिन नहुने धारणा राख्नुहुन्छ । उहाँले भन्नुभयो, “पत्रकार जनताको प्रतिनिधि हुनुपर्छ, पत्रकारिता जनताको आवाज हुनुपर्छ । पत्रकारले निष्पक्ष, स्वच्छ र वस्तुनिष्ठ सामग्री सम्प्रेषण गर्नुपर्छ ।” वातावरण संरक्षणमा पैरवी गर्न पनि वरिष्ठ पत्रकार रिसालको महत्त्वपूर्ण भूमिका रहेको छ । उहाँले बाग्मती सफाइ, संविधानमा वातावरणको विषयलाई प्राथमिकता दिनुपर्नेलगायत मुद्दालाई सशक्त रूपमा उठाउनुभएको थियो । उहाँले भन्नुभयो, “वातावरणका मुद्दालाई किनारा लगाउन सकिएन । वातावरण संरक्षणका नाममा विकृति बढेको छ । बागमतीमा सफा पानी बगिरहोस् भन्ने मेरो चाहना छ ।”

‘अब सुनिनै छैन कुरोकन्थो’ 

वरिष्ठ पत्रकार रिसालले मङ्गलबारदेखि रेडियो सगरमाथाको कार्यक्रम ‘कुरोकन्थो’बाट बिदा लिनुभयो । उहाँले उक्त कार्यक्रम ७१ वर्षको उमेरमा २०५६ भदौ दोस्रो सातादेखि सुरु गर्नुभएको हो । उक्त कार्यक्रम हरेक मङ्गलबार प्रसारण हुन्थ्यो । “मङ्गलबारको शृङ्खला चलाएर अब रेडियो कार्यक्रम नगर्ने निर्णय लिए”, वरिष्ठ पत्रकार रिसालले भन्नुभयो, “अहिले मजदुर पत्रिकामा नियमित स्तम्भकारका रूपमा छु, अब दुई चार महिना मात्र लेख्छु होला ।”

वृद्ध उमेरमा पनि सक्रियतामा कुनै कमी छैन भन्ने जिज्ञासामा वरिष्ठ पत्रकार रिसालले भन्नुभयो, “अब चाहिँ बुढो भइएछ भन्ने लाग्छ, खुट्टा राम्रोसँग टेक्न सक्दिन, तर हरेस खाएको छैन, अझै लेख्ने हिम्मत र जोस, जागर कायमै छ ।” वि.सं.१९८५ मा भक्तपुरको गुण्डुमा जन्मनुभएका वरिष्ठ पत्रकार रिसालले २०१३ सालमा हालखबर दैनिकमार्फत पत्रकारिता सुरु गर्नुभएको थियो । करिब ६८ वर्षदेखि पत्रकारितामा रमाउनुभएका उहाँले २०२० सालदेखि २०४२ सालसम्म राष्ट्रिय समाचार समिति (रासस) मा काम गर्नुभयो । 

उहाँले राससमा प्रमुख समाचारदाताको जिम्मेवारीसमेत निर्वाह गर्नुभयो । वरिष्ठ पत्रकार रिसालले जगदम्बा श्री पुरस्कार, ‘अब्राहम कन्जरभेसन’ अवार्डलगायत प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएको छ । ‘साधुलाई सुली’, जेल डायरी, उहिले बाजेका पालामा, लोग्ने र स्वास्नी र केही मित्रका चिठी, सुशीला-भैरव, उहिलेका कुरा, नेपाली वाङ्मयका तीन तारा, भैरव रिसालका छानिएका रचना, भैरव दाइ, बितेका कुरालगायत उहाँका पुस्तक प्रकाशित छन् ।

जन्मदिनको अवसरमा तीन कृति

वरिष्ठ पत्रकार रिसालले ९७औँ जन्मदिनका अवसरमा यही साउन २६ गते तीनवटा कृति सार्वजनिक गर्नुभयो । विभिन्न पत्रपत्रिकामा प्रकाशित उहाँका लेख रचनाको सङ्ग्रह ‘भैरव रिसालका छानिएका रचना-२’ तथा ‘बितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति पाठकमाझ आएका छन् । वातावरण पत्रकारिताको अभियानकर्ता वरिष्ठ पत्रकार रिसालले नेपालको पहिलो निर्वाचित संसद्को रिपोर्टिङसमेत गर्नुभएको थियो । उहाँसँग लामो समय संसदीय रिपोर्टिङको अनुभव छ । उहाँले २०१७ सालमा राष्ट्रिय जनगणता अधिकृतका रूपमा पनि काम गर्नुभएको थियो । वामपन्थी राजनीतिमा समेत लाग्नुभएका वरिष्ठ पत्रकार रिसाल २०४८ सालको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट भक्तपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएको थियो ।

रिक्लाइन सोफामा अडिएको जिन्दगी

अनामनगरस्थित घरको दोस्रो तलामा वरिष्ठ पत्रकार रिसालको कोठा छ । त्यहाँ एउटा रिक्लाइनर सोफा छ, जसमा उहाँको जीवन अडिएको छ । प्रत्येक दिन उहाँको सोफामा बसेर बित्छ । उहाँ बिहान उठेदेखि राति नसुतेसम्म त्यही सोफामा बस्नुहुन्छ । छोरी सुषमा रिसाल खतिवडाका अनुसार ‘चिया, पानी पिउने, खाना, खाजा खाने, आगन्तुकलाई भेटघाट गर्ने, लेखपढ गर्ने सबै गतिविधि त्यही सोफामा बसेर नै गर्नहुन्छ । 

“बा सधैँ जवान रहनुहुन्छ भन्ने मेरो भ्रम टुटिसकेको छ । मलाई ताते गराउने मेरा बालाई आज हामी ताते गराउँछौँ, मलाई लेखपढ गर्न सिकाउने ‘बा’का हातबाट आज अक्षर बन्दैनन् जसले गर्दा उहाँका मनका कुरा अर्काले लेखिदिनुपछ”, उहाँले भन्नुभयो, “कान नसुन्ने भएपछि दोहोरो संवादमा कमै मात्र चाख राख्नुहुन्छ । मैले कहिल्यै आँसु नदेखेका मेरा बाका आँखा आजभोलि छिनछिनमा रसाउँछन् ।”

वरिष्ठ पत्रकार रिसालको दिउँसो सुत्ने, ढल्किने वा आराम गर्ने बानी छैन । त्यो सोफामा बस्दा थाहै नपाइ जिउ पुरै देब्रेतिर ढल्किन्छ । टाउको हल्लिरहन्छ । सानोसानो गाँठीको छोटोछोटो कदको शरीर अहिले त खुम्चिसकेको छ । र पनि सक्रिय दैनिकी जीवनको उत्तरार्धमा पनि वरिष्ठ पत्रकार रिसालको दैनिकी सक्रिय छ । हरेक बिहान ५ बजे उठेर साँझ ९ बजे उहाँ ओछ्यानमा जानुहुन्छ । नियमित कर्मपछि अध्ययन, लेखन र भेटघाटलाई जारी नै राख्नुभएको छ । 

“कान राम्ररी सुन्न छोड्नुभएको छ । लामो समय बोल्न पनि सक्नुहुन्न । नजिकै गएर कुराकानी गर्दा गफिनुहुन्छ, पुराना किस्सा सुनाउनुहुन्छ”, छोरी सुषमाले सुनाउनुभयो । यति सब भइकन पनि वरिष्ठ पत्रकार रिसालको खान्की र निन्द्रा राम्रो छ । उहाँकी श्रीमती सुशीला रिसालका अनुसार बिहानको खानामा दालभात तरकारी, पिरो अचार, अचार पिरो नभए खुर्सानी, भएसम्म मासुको झोलसँग खाना खानुहुन्छ । दिउँसो अलिकति फलफूल, खाजामा थोरै मासुचिउरा र बेलुका पनि एउटा रोटी अलिकति तरकारी अचार खानुहुन्छ र एक कप दूध पिउनुहुन्छ ।

छिनछिनमा आँखा रसाउँछन्

छोरी सुषमा बुबा रिसाललाई स्मरण गर्नुहुन्छ, “कान नसुन्ने भएपछि दोहोरो संवादमा कमै मात्र चाख राख्नुहुन्छ । मैले कहिल्यै आँसु नदेखेका मेरा बाका आँखा आजभोलि छिनछिनमा रसाउँछन् । बोल्दा मन भारी भएर भक्कानिनुहुन्छ, छिनछिनमा भावुक बन्नुहुन्छ । कोठामै भएको टेलिभिजन हेर्ने र रेडियो सुन्ने, आज पनि देशको र समाजको बारेमा चिन्तित हुनुहुन्छ । देश र समाजकै हितमा समर्पित मेरा बाको निरीहपन, पीडा लुकाई मुस्कुराउन खोज्ने मुस्कानलाई पचाउन साह्रै गाह्रो भइरहेको छ ।”

कहिलेकाहीँ पीडाले कच्याककुचुक हुने बाको अनुहार, टिठलाग्दो निरीहपनको साक्षी बन्नु आफ्ना लागि कठिन कर्म भए पनि आजको सत्य त्यही भएको छोरी सुषमाको भनाइ छ । बुढ्यौलीले स्वास्थ्य अवस्था सारै नाजुक भएपनि आज पनि वरिष्ठ पत्रकार रिसालले सम्मानजनकरुपमा बुढेसकाल बिताइरहनुभएको छ । छुट्टिने बेला उहाँकी छोरी सुषमाले भन्नुभयो, “बालाई घरपरिवार, समाज र राज्यले माया गरेकै छ । परिवारका सबै सदस्यहरू मिलेर बाको सेवा गरिरहेका छौँ ।” रासस