• ३ माघ २०८१, बिहिबार

नियोगका योजना थप प्रभावकारी बनाउन मुख्यमन्त्री सिंहसँग छलफल

blog

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह तथा स्विस नियोग (एसडिसी) नेपालका पदाधिकारीबिच छलफल । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, साउन ३१ गते । मधेश प्रदेशमा सञ्चालित योजनालाई थप प्रभावकारी बनाउन मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले स्विस नियोग (एसडिसी) नेपालका पदाधिकारीसँग छलफल गर्नुभएको छ । 

बिहीबार जनकपुरधाममा मुख्यमन्त्री सिंहसँगको छलफलमा नियोगका डेपुटी चिफ अफ मिसन म्याथियास मेयरलगायतका नियोगका अधिकारीले प्रदेश सरकारका विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाएका छन् । 

भेटमा मुख्यमन्त्री सिंहले मधेशमा सिँचाइलगायत बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने तथा नहर निर्माण योजना कार्यान्वयन, मधेश विश्वविद्यालयमा सङ्घीयता विषयमा अध्य्यनअध्यापन गराउन, वैदेशिक रोजगारबाट फर्केकालाई दक्षता अभिवृद्धि तथा उद्यम सञ्चालन, प्रदेशमा पूर्ण साक्षरता, सूचना प्रविधिको विकास तथा व्यावसायीकरण आदिका क्षेत्रमा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । 

उहाँले आँप र केरालगायत खेतीको प्रवद्र्धन तथा सहउत्पादनका लागि प्रविधि हस्तान्तरण तथा उपयोगका लागि समेत नियोगका अधिकारीको ध्यानाकृष्ट गराउनुभएको छ ।

यस्तै नियोगका डेपुटी चिफ अफ मिसन मेयरले एसडिसीमार्फत स्विट्जरल्यान्डले नेपाललाई सङ्घीय लोकतान्त्रिक राज्यका रूपमा विकसित गर्न, समतामूलक सामाजिक तथा आर्थिक विकास प्रवद्र्धन गर्न र नयाँ संघीय संरचनामा महिला तथा पुरुषलाई उनीहरूको अधिकार र जिम्मेवारी प्रयोग गर्न सक्षम बनाउन सहयोग गरिरहेको बताउनुभयो । उहाँले संघीय राज्य विकास, रोजगारी र आय प्रवद्र्धनसँगै नेपाली आप्रवासी कामदारको सुरक्षामा योगदान पुर्याउने, लैंगिक समानता र सामाजिक समावेशीकरण, प्रकोप जोखिम न्यूनीकरण आदिका क्षेत्रमा नियोग प्रदेश सरकारसँग काम गर्न उत्सुक रहेको उल्लेख गर्नुभयो । 

नियोगले आगामी दिनमा प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्त्वका योजना कार्यान्वयनमा साझेदारी गर्ने सक्ने र सञ्चालित योजनालाई थप प्रभावकारी बनाउने जनाएको छ । 

मुख्यमन्त्रीसँगको भेटमा नियोगका प्रशासन तथा अर्थ विज्ञ मार्क वर्ली पनि सहभागी हुनुहुन्थ्यो ।