• १६ भदौ २०८१, आइतबार

कुवापानी पहिरोले आदिवराह पुरियो

blog

पर्वत,  साउन ३१ गते ।  जिल्लाको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल आदिवराह ताल पहिरोका कारण पुरिएको छ । जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । 

गत बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको पहिरोले बगरमा परिणत भएको थियो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत मर्मत गरेको स्थानीय नवीन जिसीले बताउनुभयो । गत वर्ष मर्मत गरिएको ताल गत बुधबार आएको पहिरोले पुनः पुरिएर पहिलेकै अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । 

अविरल वर्षासँगै बुधबार आएको पहिरोले एउटा घर जोखिममा परेको छ भने सयौँ रोपनी धानखेत समेत पुरिएको जलजला–४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिनुभयो । उहाँले गत वर्षदेखि यस क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको बताउनुभयो । 

समुद्री सतहबाट एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिवराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल छन् । ताल मात्र नभई यहाँ रहेको बराह मन्दिर पनि पहिरोको जोखिमा परेको उहाँले जानकारी दिनुभयो ।  

स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार नीलो तालको बीचमा बयरको रुखसँगै रहेको वराहको मन्दिर आकर्षक र मनमोहक देखिन्छ । “यो वराह मन्दिर रहेको ताल प्राकृतिक हो । यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ । यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा वराह देवताको पूजा गर्दै आएका थिए । अहिले पनि यहाँका सबै जातजातिले वराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन् । वराह देवता रहेको तालमा टाढाटाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्छ”, उहाँले भन्नुभयो ।

कुवापानी पहाडबाट लगातार पहिरो बग्दै आएर बाढी पसेपछि तालमा कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय जिसीले बताउनुभयो । प्रत्येक वर्ष जनैपूर्णिमामा आदिवराह ताल मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गर्दछ । मेला हेर्न र वराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । 

तालसँगै रहेको घर्ती क्षेत्रीहरुको वराह मन्दिर दुई वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि वराहताल पुग्न सकिन्छ । अहिले यहाँ मोटरबाटोको सुविधा पुगेको छ ।  

तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय लालबहादुर अधिकारीले बताउनुभयो । घर्ती क्षेत्रीको कुलपूजा यही तालको नजिकमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको उहाँको भनाइ छ ।

“छेउमा रहेको ढुङ्गे धारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्”, अधिकारीले भन्नुभयो, “तालको बीचमा रहेको मन्दिर र बरको रुखले थप आकर्षक बनाएको छ । वराह ताल अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ ।” 

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो वराहताल कहिल्यै नसक्ने स्थानीय बताउँछन् । तालको बीच भागमा अवस्थित बयरको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलवराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल संरक्षण र प्रवर्द्धनका लागि पछिल्लो समय स्थानीय र प्रदेश सरकारले चासो देखाएका बेला पहिरोले पुरिएर समस्या भएको स्थानीय अधिकारीले बताउनुभयो । 

कुवापानीको पहाड नै चर्किएर झरेको पहिरोले गत वर्ष सात घर विस्थापित बनेका थिए । यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेत बगरमा परिणत भएको थियो । गत वर्ष पहिरो जाँदा खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली कुवापानीको पहाडमा पुगेर अध्ययन गरेको थियो । 

विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक बिरास मल्ल र आइटी इञ्जिनियर ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिनुभएको थियो । रासस