• १० मंसिर २०८१, सोमबार

डेंगु परीक्षण र उपचारका लागि सङ्घीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौँ, साउन ३१ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताउनुभएको छ ।

डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशिल बनाइ निगरानी गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पौडेलले बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्नसके पनि महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो । उहाँले जनचेतना अभिवृद्धि गर्ने क्रममा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायहरुको सूचना दिने व्यवस्था मिलाउने पनि बताउनुभयो । उहाँले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रबार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गर्नुभयो । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

‘विद्यालय, अस्पताल, कलेज, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थल यो सबैमा पालिकाले वडालाई क्रियाशील बनाएर निगरानी गर्न आवश्यक छ । यो बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरियो भने नियन्त्रणमा योगदान पुग्छ । त्यसैले जनचेतनाको पक्ष असाध्यै महत्त्वपूर्ण छ । जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले कसरी काम गर्न सक्छन् ? डेंगुविरुद्ध कसैले केही पोस्ट गर्‍याे भने त्यो चेतनामूलक सूचना रहेछ भने सबैले शेयर गर्ने गर्नुपर्छ ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘टेलिफोनको रिङटोनमा यसको बारेमा हामी सूचना दिने कुरा गर्नेछौँ । टायर नष्ट गर्ने सन्दर्भमा पनि यहाँहरुले विशेष ध्यान दिन जरुरी छ । आफ्नो कार्यालय सफा गर्ने अभियान शुक्रबार गरौँ । मन्त्रालयले तोकिदिएको नै छ, तपाईंहरुले पनि सोही समय तोकिदिनुभयो भने शुक्रवार १० देखि ११ बजेसम्म सबै प्रमुखदेखि सहयोगीसम्म काममा जुट्नुपर्छ ।’’

मन्त्री पौडेलले नसर्ने रोगहरुबाट नेपालीहरु आक्रान्त रहेको बताउनुभयो । उहाँले सबै सङ्घीय अस्पतालमा डेंगु उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताउनुभयो । डेंगी सङ्क्रमण देखिए निःशुल्क उपचार हुने जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले डेंगु खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । डेंगु रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

खोज र नष्ट विधि घरदेखि ठुला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरुको भनाइ छ । यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र सामुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरुको सुझाव छ ।

समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगु रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने विज्ञहरु बताउँछन् ।