• १६ भदौ २०८१, आइतबार

भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो

blog

भूतछाँगा । फाइल तस्बिर

चौतारा (सिन्धुपाल्चोक), साउन ३१ गते । यहाँको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानो सिरूबारीस्थित पर्यटकीय स्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीय स्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका हुन् । 

पैदलयात्रा तथा साइक्लिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट छ किलोमिटर दूरीमा पर्दछ । अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाको प्रमुख रोजाइ बन्ने गरेको स्थानीय राजीव दुलालले बताउनुभयो । यहाँ सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ र ललितपुरबाट पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो । 

आफू पहिलो पटक यहाँ पुग्दा भूतछाँगा प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको स्थानीय तेजबहादुर अधिकारीले बताउनुभयो । यहाँ पर्यटकीय सम्भावना रहेको भन्दै स्थानीय सरकारले पर्यटन प्रवर्द्धनमा योजना बद्धरुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटन प्रवर्द्धन गरी स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गरी आयआर्जन वृद्धि गर्न सकिने उहाँको भनाइ छ । भूतछाँगामा अन्य साहसिक पर्यटनका गतिविधि सञ्चालन गर्न पर्याप्त सम्भावना देखिएकाले यसतर्फ सरोकार भएकाको ध्यान जान आवश्यक रहेको अधिकारीले बताउनुभयो ।  

काठमाडौँबाट एक दिनमा पुगेर फर्कन सकिने, हाइकिङ वा साइक्लिङ गर्न उपयुक्त स्थान भूतछाँगामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय भुवन घलेले बताउनुभयो । पर्यटकीय गतिविधि बढ्न थालेपछि स्थानीय व्यवसायीले यहाँ रिसोर्ट सञ्चालन गरेका भन्दै थप पूर्वाधार निर्माण गरी आर्थिक गतिविधि वृद्धि गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । रासस