• ३ माघ २०८१, बिहिबार

भवन बनेर पनि अलपत्र सञ्चालन हुन सकेन अस्पताल

blog

हरिपुर्वा नगरपालिकामा अलपत्र रहेको १५ शय्याको अस्पताल भवन । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, साउन ३१ गते । सर्लाहीको हरिपुर्वा नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको दुई वर्ष बितिसक्दा पनि अझै प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको यो अस्पताल दुई वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । नगरपालिकाका जनप्रतिनिधिबिचको टकरावले गर्दा जिल्लाको दक्षिणपूर्वी ग्रामीण भेगस्थित हरिपुर्वा नगरपालिका–२ मा निर्माण भएको सुविधासम्पन्न अस्पताल भवन सञ्चालन हुन नसकेको हो । 

१० वर्ष लगाएर निर्माण भएको अस्पताल भवन सञ्चालनमा नआउँदा स्थानीय चिन्तित बनेका छन् । हरिपुर्वा नगरपालिका–२ का बेचु साहले गाउँमा १५ शय्याको अस्पताल निर्माण भए पनि सामान्य बिरामी पर्दासमेत उपचारका लागि मलङ्गवा, जनकपुर वा काठमाडौँ जानुपर्ने बाध्यता हट्न नसकेको दुःखेसो पोख्नुभयो । 

अस्पताल सञ्चालनमा जनप्रतिनिधिले चासो नदिएको साहको दुःखेसो छ । “गाउँमै यति ठुलो अस्पताल भवन बनेको दुई वर्ष पुग्यो तर सञ्चालन गर्न जनप्रतिनिधिले चासो देखाएका छैनन्,” साहले भन्नुभयो, “आमनागरिक सामान्य बिरामी पर्दा खर्च बढाएर अन्यत्र गई उपचार गराउनुपर्ने बाध्यता छ ।” 

अस्पताल भवन निर्माणका लागि हरिपुर्वा नगरपालिका–२ का स्थानीय विनोद साहले १० कट्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । निर्माण भएको अस्पताल भवन भने दुई वर्षसम्म पनि अलपत्र परेपछि जग्गादाता साहसमेत चिन्तित हुनुहुन्छ । 

नगरमा निर्माण भएको अस्पताल सञ्चालन नहुँदा स्थानीयले सास्ती खेपिरहेका साहले बताउनुभयो । “गाउँमा धेरैको अकालमा मृत्यु भएको र महिलालाई प्रसूति गराउन जनकपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यता देखेर गाउँमै अस्पताल निर्माण होस् भनेर जग्गा दिएँ,” साहले भन्नुभयो, “राजनीतिक विवादले अस्पताल भवन बन्न नै १० वर्ष लाग्यो, बनेपछि पनि दुई वर्षसम्म सञ्चालनमा आउन सकेको छैन ।”

जग्गादाता साहले यो अस्पतालप्रति यसै क्षेत्रका निर्वाचित सङ्घीय सांसदसमेत रहनुभएका पूर्वमन्त्री महिन्द्र राय यादव कहिले पनि सकारात्मक नभएको आरोप लगाउनुभएको छ । राजनीतिक खिचातानीका कारण अस्पताल यसरी अलपत्र परेको जग्गादाता साहले बताउनुभयो ।

हरिपुर्वा–२ का वडाध्यक्ष दिनेश राय यादवले अस्पताल सञ्चालन नहुँदा गाउँका गरिब तथा विपन्न परिवारका मानिस बिरामी पर्दा महँगो एम्बुलेन्स भाडा तिरेर अन्यत्र जान बाध्य रहेको बताउनुभयो । “यहाँ कुनै प्रकारको आकस्मिक बिरामी परेर उपचार गर्न एम्बुलेन्समा जनकपुर जानुपर्दा पाँच हजार, काठमाडौँ जाँदा १६ हजार र मलङ्गवा जाँदा तीन हजार भाडा लाग्छ,” वडाध्यक्ष यादवले भन्नुभयो, “डाक्टर राखेर यो अस्पताल सञ्चालन गर्न पाए स्थानीयलाई ठुलो राहत मिल्थ्यो, कोही पनि महँगीमा पर्नु पर्दैनथ्यो ।” 

हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले अस्पताल सञ्चालनका लागि आफूले आर्थिक वर्ष २०७९/८० मै एक करोड रुपियाँ बजेट विनियोजन गरे पनि सो बजेट चलाउन खोज्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलाई नगरका जनप्रतिनिधिले दुव्र्यवहार नै गरेको बताउनुभयो । उहाँले अस्पताल सञ्चालनमा ल्याउन पहल गरिरहेको दाबी गर्दै आउनुभएको छ । नगरप्रमुख साहले नगरपालिकामा बजेट हुनासाथ यो वर्ष भने अस्पताल भवन प्रयोगमा ल्याउने दाबी गर्नुभएको छ । “यो वर्ष बजेट बेलैमा पारित भइसकेको छ, त्यसैले अस्पताल भवन सञ्चालन गरिछाड्छौँ,” नगरप्रमुख साहले भन्नुभयो, “अस्पताल भवन प्रयोग गर्न नसक्दा हामीलाई पनि लाजमर्दो भइसकेको छ ।”