• १२ पुस २०८१, शुक्रबार

गान्धीको अहिंसात्मक आन्दोलन

blog

ब्रिटिस उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको अवसरमा भारतले अगस्त १५ लाई स्वतन्त्रता दिवस मनाउँदै आएको छ । आज भारतले ७६ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । महात्मा गान्धीको अहिंसात्मक आन्दोलनको बलमा भारतले १५ अगस्त १९४७ मा स्वतन्त्रता प्राप्त गरेको थियो तर १५ अगस्त मध्यरातको दिल्लीको सभामा गान्धी उपस्थित थिएनन् । भारत पाकिस्तान विभाजन र हिन्दु मुस्लिमबिचको द्वन्द्वले स्वतन्त्रता प्राप्तिमा पनि गान्धी खुसी नभएर विक्षिप्त थिए । 

गान्धीले जीवनमा विभिन्न व्यक्तिबाट प्रत्यक्ष र अप्रत्यक्ष प्रेरणा लिएका छन् तर सबैभन्दा ठुलो प्रेरणा समग्र भारतको गरिबी, गुलामी र गीताबाट लिए । उनले एकसरो धोती लगाउन थाल्नुको एउटा रोचक प्रसङ्ग पनि छ । सन् १९१७ मा नेपालको सीमा क्षेत्र चम्पारण आइपुगेका बेलाबाट उनले धोती लगाउन सुरु गरेका हुन् । त्यसबेला उनले तीन कठिया करविरुद्ध सत्याग्रह गरेका थिए, जुन सत्याग्रह गान्धी २१ वर्ष दक्षिण अफ्रिका बसेर फर्केपछि गरेका थिए । यो नै उनको पहिलो सत्याग्रह हो । 

गान्धीको ‘इन्डिया अफ माई ड्रिम्स’ (मेरो सपनाको भारत) पुस्तकको  अङ्ग्रेजीमा पहिलो संस्करणका रूपमा १५ अगस्त १९४७ मा प्रकाशित भएको थियो, जसले स्वतन्त्र भारतको इतिहासमा छुट्टै महत्व राख्छ । यस पुस्तकको पहिलो संस्करणमा राजेन्द्र प्रसादले प्रेरणादायी भूमिका लेखेका छन् । उनी भारतका प्रथम राष्ट्रपति भए । यो पुस्तक हिन्दीसहित विभिन्न भाषामा प्रकाशित छ तर यो पुस्तक गान्धी आफैँले पुस्तककै आकारमा लेखेका नभएर विभिन्न समयका लेख सङ्कलन गरिएको सङ्ग्रह हो । यंग इन्डिया र हरिजन (गान्धीद्वारा सम्पादित पत्रिका) मा गान्धीले लेखेका लेखलाई सङ्ग्रह गरेर पुस्तकको रूप दिइएको हो । 

यस पुस्तकमा आर. प्रभुले कुशलतापूर्वक गान्धीका भाषण, लेख र अन्य स्रोतबाट सङ्कलित सामग्रीलाई सङ्कलन गरेका छन् । गान्धीले स्वतन्त्र भारतलाई आफ्नो आन्तरिक मामिलामा र विदेशसँगको सम्बन्धमा कस्तो व्यवहारको अपेक्षा गरेका थिए भन्ने कुरा पुस्तक अध्ययनबाट जानकारी पाउन सकिन्छ । गान्धीको सपनाको भारतको काल्पनिक चित्र यहाँ देख्न पाउँछौँ । यो पुस्तक गान्धीको विचार अध्ययन गर्नेहरूका लागि मात्र नभई सक्रिय रूपमा देशको सेवा गरिरहेका रचनात्मक व्यक्तिका लागि पनि उपयोगी रहेको छ । पुस्तकको प्रास्तवनामा राजेन्द्रप्रसाद लेख्छन्, ‘यस अवसरमा जब हामी आफ्नो इतिहासको नयाँ युगमा प्रवेश गर्दैछौँ, गान्धीजीको भारतको सपनाको तस्बिर विश्वसामु प्रस्तुत गर्ने र देशको स्वतन्त्रताको बारेमा यो महान् विचार हो । हामीले चाहेको खण्डमा भारतको भविष्य निर्माण गर्न सक्छौँ र साथै बिगार्न पनि सक्छौँ, हाम्रै हातमा छ । हाम्रो यो स्वतन्त्रताको नेतृत्व महात्मा गान्धीजीले गर्नु भएको हो ।’ 

राजेन्द्रप्रसाद विश्वास गर्छन्, गान्धीले सत्य र अहिंसाको अनौठो हतियार प्रयोग गरे । साधनहरू कति अपूर्ण थिए तर इतिहासले गवाही दिन्छ कि हाम्रो युद्धका हतियार जस्तै अन्य कुनै पनि राष्ट्रले आफ्नो उद्देश्य प्राप्त गर्नका लागि गर्नु पर्ने बलिदानभन्दा ठुलो थियो । अतुलनीय पनि । त्यसै गरी स्वतन्त्रता प्राप्तिमा हाम्रासामु खुला भएका सबै सम्भावना पनि अतुलनीय रहे । न त हाम्रा नेताहरूलाई विजय र आनन्दको वाहकमा बिर्सन सक्छौँ । स्वतन्त्रता, अन्तमा, उदार एक माध्यम हो र गान्धीजीको सपनाको पराकाष्ठा हो, जसका लागि उनी बाँचेका थिए । यस अवसरमा गान्धीजीको शिक्षाका आधारभूत सिद्धान्तहरू स्मरण गर्नु पक्कै उपयुक्त हुने छ । विभिन्न शीर्षकमा लेखिएका ७५ वटा लेख गान्धीको कल्पनाको भारतको भविष्यमा केन्द्रित छन् तर उनको सपना र कल्पनालाई भारतीय शासकले कति पछ्याए वा स्थान दिए भन्ने बारेको अध्ययन, अनुसन्धानको अर्को पक्ष हुन सक्छ । 

गान्धीले भनेका छन्, ‘यदि भारतले हिंसालाई आफ्नो धर्म मान्छ र यदि म जीवित रहन्छु भने म त्यो भारतमा बस्न चाहन्नँ । किनभने मेरो मनमा मेरो देशप्रतिको प्रेम मेरो धर्मद्वारा नियन्त्रित छ । म भारतीय हुँ, जसरी बच्चा आफ्नो आमाको छातीमा टाँसिन्छ, त्यसरी भारतले मलाई आवश्यक आध्यात्मिक पोषण दिन्छ ।’ तर दुर्भाग्य, स्वतन्त्र भारतमा जम्मा १६८ दिन मात्र उनी जीवित रहे । ३० जनवरी १९४८ का दिन दिल्लीस्थित विडला भवनको प्रार्थना सभामा उपस्थित हुँदा भारतीय समय अनुसार सवा पाँच बजेको समयमा नाथुराम गोड्सेले चलाएको तीन गोली छातीमा लागेर गान्धीको मृत्यु भयो । ९ अगस्त १९४२ मा गान्धीले ‘करो या मरो’ नारा उद्घोष गरे । अर्थात् अन्तिम लडाइँ, ‘भारत छोडो’ आन्दोलन । त्यही दिन बम्बई (हाल मुम्बई) बाट गान्धी गिरफ्तारमा परे । उनीसँगै उनका स्वकीय सचिव महादेव भाइ देसाई पनि गिरफ्तार भए । भोलिपल्ट उनकी श्रीमती कस्तुरबा पनि गिरफ्तार भइन् । सबैलाई आगाँखानप्यालेस (जेल) मा राखियो । उक्त जेलमा गान्धीसँगै देसाई, कस्तुरबा, सुशीला नैयर, मनुबेन, प्यारेलाल, सरोजनी नायडु मीराबेन, सबैलाई राखिएको थियो । सबै गान्धीका परिवारका सदस्य जस्तै थिए ।

१५ अगस्तका दिन महादेव देसाईको हृदयाघातका कारण निधन भयो । उनी गान्धीसँग सन् १९१७ देखि निरन्तर सहयोगी बन्दै आएका थिए । उनी सिद्धहस्त लेखक थिए । कतिपय लेख त उनकै लेखलाई गान्धीले एमके गान्धी भनेर पत्रिकामा छपाएका प्रसङ्ग पनि छन् । उनको देहान्तपछि उनले सम्हाल्दै आएको काम छ जनाको सचिवालयले सम्हाल्नु परेको अनुभव उनका पुत्र नारायण भाइ देसाईले सुनाएका थिए । गान्धी र महादेवबिच बाबुछोराको जस्तो सम्बन्ध थियो । 

गान्धीकी श्रीमती कस्तुरबाले महादेव तुम कहाँ गए भन्दै डाँको नै छाडेर रोएको तथ्य डा. सुशील नैयरको ‘बापु की कारावास कहानी’ अध्ययन गर्दा जानकारी हुन्छ । उनको अन्तिम संस्कारका लागि सरकारले बाहिर लैजान अनुमति दिएन । दङ्गा भड्किन सक्छ भन्ने डर थियो । जेलको कम्पाउन्ड भित्रै उनको दाहसंस्कार गर्नु परेको थियो । उनलाई दागबत्ती दिँदै गान्धीले ‘महादेव आजसम्म तँ मेरो छोरो बनेर सेवा सुश्रुवा गरिस् तर आज म तेरो सन्तान बनेर दागबत्ती दिँदै छु,’ भनेर दागबत्ती दिएका थिए । देसाई पुत्र नारायणभाइ देसाई (९० वर्षीय) ले सन् २०१४ मा यो स्तम्भकारसँग भनेका थिए, ‘निधनको ४२ दिनपछि मात्र घरमा खबर पु¥याइएको थियो । त्यति बेला म १७ वर्ष मात्र पुगेको थिएँ ।’ 

त्यस दिन गान्धीले देसाई सामुन्ने बसेर गीताको बाह्र अध्यायदेखि अठार अध्यायसम्म पाठ गरेका थिए । वर्ष दिनको तिथिका दिन उनको समाधि स्थललाई गाईको गोबरले लिप्न लगाई फूलले ओम लेख्न लगाई इसोपोनिषद्को पहिलो र अन्तिम श्लोक स्वयम् गान्धीले पाठ गरेका थिए । त्यस दिन जेलका कैदी बन्दीलाई एक छाक भोजनसमेत गराएका थिए । त्यसपछिका वर्षमा १५ अगस्तलाई गान्धीले देसाई स्मृति दिवसका रूपमा स्मरण गर्दै आएका थिए । संयोग त्यही दिन १५ अगस्त १९४७ मा भारत स्वतन्त्र हुन पुग्यो ।  

Author

सञ्जय पन्थी