• १६ भदौ २०८१, आइतबार

आहा ढोरपाटन... (फोटो फिचर)

blog

ढोरपाटन क्षेत्रका बुकी ,टिकाधारापाटन ,उपत्यका ,नवी गाउँ । तस्बिर: साधन घर्ती

म्याग्दी, साउन ३१ गते । बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लासम्म फैलिएको ढोरपाटन सिकार आरक्षका वन जङ्गल, उपत्यका र डाँडाकाँडाको सेरोफेरो अहिले मनसुनमा हरियाली ,रङ्गीबिरङ्गी हुँदा मनै लोभ्याउने गरेको छ । 

उपत्यका फाँटमा चरिरहेका घोडा र खच्चड, गाई ,भैँसी, बुकी र टिकाधारापाटन लगायत चरण खर्कमा भेडा बाख्रा बथानका अवलोकन गर्ने जोकोही पनि मोहित हुने गर्छन् । उत्तरतर्फ बग्ने उत्तर गङ्गा नदी तथा उपत्यका छेउछाउमा रहेका बाक्लो बस्ती र काठ मात्र प्रयोग गरेर निर्माण गरेका पुरानो शैलीका चिटिक्कका घरहरूले पनि पर्यटकलाई आकर्षित गर्ने गर्दछ ।

पछिल्लो समय ढोरपाटन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको ढोरपाटन नगरपालिका–६,कुदुम गाउँका युवा दीपक भण्डारीले बताउनुभयो । उहाँका अनुसार, ढोरपाटनमा सिकारी पर्यटक, पदयात्रा गर्ने पर्यटक, भ्रमण गर्ने पर्यटक र धार्मिक पर्यटकहरू आउने गरेका छन् । ढोरपाटन जोड्ने सडकहरूलाई स्तरोन्नति गरेर व्यवस्थित बनाउनुका साथै यस क्षेत्रमा पूर्वाधार निर्माण गर्न सकेमा थप सहज हुने उहाँको भनाइ छ । पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै ढोरपाटन क्षेत्रमा होमस्टे, सामुदायिक लज तथा होटेल खुल्ने क्रम बढेको उहाँले बताउनुभयो । विभिन्न प्रकारका जङ्गली जनावरहरू देख्न सकिन्छ । 

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ । पहिलो याम (असोज–मङ्सिर) र दोस्रो सिजन (फागुन–वैशाख) हो । ढोर वाराही मन्दिरमा वैशाख पूर्णिमा र जनै पूर्णिमामा विशेष पूजा हुने हुँदा उक्त समय धार्मिक पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । पर्यटकहरूले घोडा सवार गरी उपत्यकाको सुन्दर दृश्य हेर्ने, फोटो खिच्ने र भिडियो गराउने गर्छन् । ढोरपाटन सुन्दर लागेको म्याग्दीको मालिका गाउँपालिका–५,स्थित रुन्माबाट घुम्न आउनुभएका देविन्द्र बुढाले बताउनुभयो । ढोरपाटनका विभिन्न क्षेत्रबाट गुर्जा, माछापुच्छ्रेे हिमाल सहित धौलागिरि र अन्नपूर्ण हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ ।


Author

साधन घर्ती