• १६ भदौ २०८१, आइतबार

गाभिए आइएमई र जिएमई रेमिट

blog

काठमाडौँ, साउन ३१ गते । आइएमई र जिएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्र र आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको हो । मर्जरपछि बनेको आइएमईको चुक्ता पुँजी एक अर्ब नाघेको छ । 

एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिटेन्सको योगदान सशक्त रहेको बताउनुभयो । उहाँले रेमिट्यान्स सेवालाई सहज एवं थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताउनुभयो । 

सोही अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्षपहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेसनल मनी एक्सप्रेसको प्ररम्भिक यात्राबारे स्मरण गर्नुभएको थियो । उहाँले जापान बस्दा आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पु¥याउन झेलिरहेका समस्याहरू देखेका कारण आइएमईको जन्म हुन पुगेको अध्यक्ष ढकालले उल्लेख गरे । 

अध्यक्ष ढकालले आइएमईलाई चाडै नै पब्लिकमा लैजाने जानकारी गराउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, “जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।” 

रेमिट्यान्सको आकार बढेको र डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैङ्क खातामा पठाउन सकिने भएकाले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तारमा नेपाल राष्ट्र बैङ्कले सहजीकरण गर्ने विश्वास रहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । 

एकीकृत कारोबारपश्चात् आइएमई लिमिटेडका अध्यक्ष बन्नुभएका हेमराज ढकालले रेमिट्यान्सलाई औपचारिक अर्थतन्त्रमा जोड्दै देशको सामाजिक–आर्थिक रूपान्तरणको संवाहकका रूपमा आइएमई स्थापित भएको जिकिर गर्दै अझ सबल र डिजिटल रेमिट्यान्सको लिडरका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेवाग्राहीको अपेक्षा तथा बजारको मागलाई ध्यानमा राख्दै दूरदराजसम्म डिजिटल रेमिट्यान्स सेवाको सहज पहुँच स्थापित गर्ने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । 

स्थानीयस्तरसम्म डिजिटल रेमिट्यान्स सेवा विस्तार गरी आमनागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने अपेक्षा संस्थाले लिएको उहाँले उल्लेख गर्नुभयो ।  एकीकृत कारोबारपश्चात् आइएमईका नवनियुक्त कार्यकारी प्रमुख दिवाकर पौडेलले यो मर्जरपछि समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवं थप प्रविधियुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पौडेलले कोरिया जापानलगायतका उदाउँदा श्रम गन्तव्यलक्षित सेवा दिइरहेको जिएमई रेमिटबिच सम्मानजनक एकीकरण भएको बताउनुभयो ।