• ३० साउन २०८१, बुधबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ।

घोराही समाचारदाता

घोराही, साउन ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिनुहुने भएको छ । आउने भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो । 

प्रदेश सभाले बुधवार सूचना प्रकाशित गर्दै भदौ ४ गते दिउँसो १:०० बजे बैठक आह्वान गरेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभएको छ । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो । 

साउन ७ गते मुख्यमन्त्री बनेर ९ गते शपथ ग्रहण र पदभार ग्रहण गर्नु भएका मुख्यमन्त्री आचार्यले सरकारलाई पूर्णता दिन सक्नु भएको छैन । एमाले र कांग्रेसबाट ४/४ मन्त्री नियुक्त गरेपनि अझै ३ मन्त्रालय खाली रहेका छन् । 

सत्ता गठबन्धनका दुई दल एमाले र कांग्रेसबाट थप मन्त्री बनाउनु पर्ने दबाब मुख्यमन्त्री आचार्यलाई रहेको छ भने मुख्यमन्त्री आचार्य साना दलहरूलाई पनि सरकारमा सहभागी बनाएर अघि बढ्ने मनस्थितिमा हुनुहुन्छ ।