• २९ असार २०८२, आइतबार

आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छ : सभापति लामिछाने

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

काठमाडौँ, साउन ३० गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताउनुभएको छ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले सङ्क्रमणकालीन न्याय निरूपणको गाँठा फुकाउने गरी कानुन बनेपनि कानुन आफैँले न्याय नदिने उल्लेख गर्नुभयो। 

उहाँले न्याय दिनका लागि संरचना चाहिने भन्दै उहाँले संरचनामा रहने व्यक्तिको नियत सफा रहनुपर्नेमा जोड दिनुभयो। उहाँले राजनीतिक स्वार्थका आधारमा दलीय भागबन्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने बताउनुभयो। 

उहाँले आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने बताउनुभयो। आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राख्नुभयो। उहाँले राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोगमार्फत रायको लागि आउने घटनामा दलीय स्वार्थ राख्ने सम्भावना हुने भएकाले यसप्रति सचेत हुनुपर्ने बताउनुभयो। 

सभापति लामिछानेले देशभित्र टुङ्गिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय समुदायको चिन्ता र चासोबारे पनि ख्याल गर्नुपर्ने बताउनुभयो। उहाँले सङ्क्रमणकालीन न्याय निरूपणमा रास्वपाको सकारात्मक सहयोग हुने भन्दै संसद्को चौथो शक्तिको रूपमा रास्वपाको उपस्थितिप्रति नजरअन्दाज नगर्न पनि दलहरूलाई आग्रह गर्नुभयो।