• १६ भदौ २०८१, आइतबार

सङ्घीयताको अनुभूति गर्न नपाएको जनगुनासो

blog

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, साउन ३० गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमका वक्ताहरूले सङ्घीयताको अनुभूति पहुँचवालाले मात्र गर्न पाएको गुनासो गरेका छन् ।

प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मङ्गलबार आयोजित ‘बदलिँदो परिस्थितिमा नागरिक शिक्षा तथा लोकतन्त्र बहस’ कार्यक्रमका वक्ताहरूले संविधानमा त्रुटि भएका कारण सङ्घीयता अनुभूति शक्तिमा पहुँच भएकाले मात्र गर्न पाएको गुनासो गरेका हुन् । कार्यक्रमका वक्ताहरूले संविधानमा भएका त्रुटिलाई सच्याउन संविधान संशोधन हुनुपर्ने माग राख्दै सङ्घीयतालाई पूर्णता दिनुपर्ने जोड दिएका छन् ।

आरक्षण कोटाले विपन्न तथा पिछडिएका वर्गलाई समेटे पनि विपन्न तथा पिछडिएका वर्गले पूर्ण रूपमा सङ्घीयताको अनुभूति  गर्न नपाएको जिकिर गर्दै सम्पूर्ण वर्गको समान अधिकार र सहज पहुँचका लागि संविधान संशोधनका लागि बृहत् छलफल हुन आवश्यक रहेको बताएका छन् । 

कार्यक्रममा संविधानविद् तथा प्रशासनविद् काशीराज दाहालले देश सङ्घीय संरचनामा गएपछि आरक्षण कोटाले सबैलाई समेटेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “वित्तीय सङ्घीयता कार्यान्वयनमा आएन, सङ्घको अनुदानमा प्रदेश र स्थानीय सरकार सञ्चालन भएको छ, राजस्वको दायरा बढाउन सकिएको छैन । प्रशासनिक सङ्घीयता कायम भएन, त्यस कारण पनि सङ्घीयता पूर्ण रूपले कार्यान्वयन हुन नसकेको हो ।” 

उहाँले नेपालको मुख्य समस्या राजनीतिक अस्थिरता, कमजोर सुशासन, अनुशासनहीनता, जवाफदेहिताको अभाव, दण्डहीनताको स्थिति, भूराजनीतिले आन्तरिक व्यवस्थापनमा पार्न सक्ने प्रभाव, कर्मचारी प्रशासनमा व्यावसायिकताको कमी, राजनीतिमा नैतिकताको कमी, राष्ट्रिय हितलाई प्रवर्धन गर्ने शिक्षाको अभावलगायतका समस्याले संवैधानिक प्रणाली गतिशील हुन नसकेको तर्क गर्नुभयो । दाहालले कानुन बनाउँदै आवश्यकतालाई प्राथमिकीकरण गरेर नीति निर्माण गर्न सुझाव दिनुभयो । जनताले प्राप्त गर्ने सेवा प्रवाह शीघ्र, सुलभ, दिगो र गुणस्तरीय हुनुपर्ने भन्दै उहाँले शासन प्रणालीप्रति जनताको विश्वास डगमगायो भने संविधानले मात्र रक्षा गर्न सक्दैन भन्ने कुरा शासन गर्नेहरूले हेक्का राख्नुपर्ने बताउनुभयो । 

यसै गरी नेपाल टेलिभिजनका बोर्ड सदस्य आरती चटौतले माननीयभन्दा शक्तिशाली जनता नै हुने भएकाले जनताले लोकतन्त्रको फाइदा उठाउन सक्नुपर्ने बताउनुभयो । फ्रेडरिक इबर्ट स्टिफटुङ नेपालद्वारा आयोजित कार्यक्रमका अध्यक्ष चन्द्रदेव भट्टले समतामूलक समाज निर्माणमा सहयोग पु¥याउनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।