• १६ भदौ २०८१, आइतबार

‘नागरिक पनि जिम्मेवार हुनु पर्छ’

blog

मकवानपुर समाचारदाता

हेटौँडा, साउन  ३० गते  । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राज्यसँगै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । उहाँले पारदर्शिता र सुशासन अहिलेको आवश्यकता भएको बताउँदै सबै पक्ष जिम्मेवार नबन्दा अहिले समस्या देखिएको बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा करका दर बढाएपछि आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीको ध्यानाकर्षणपत्र मङ्गलबार आफ्नो कार्यालयमा बुझ्दै मुख्यमन्त्री लामाले उद्योगी, व्यवसायीसँगै सबै नागरिकपारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले सरकारले कर सङ्कलनसँगै उद्योगी व्यवसायीलाई उद्योग व्यवस्था गर्ने वातावरण र सुरक्षाको प्रत्याभूतिसमेत दिनु दायित्व भएको भन्दै लगानीको सुरक्षाको वातावरण निर्माण नहुँदा पलायन हुने अवस्था आउने बताउनुभयो । 

उद्योगी व्यवसायीको करलगायतका समस्याबारे स्थानीय तहसँग संवाद गरिने बताउँदै मुख्यमन्त्री लामाले भन्नुभयो, “स्थानीय तहले उठाउने एकल अधिकारका करबारे प्रदेश र सङ्घीय सरकारलाई हस्तक्षेप गर्ने अधिकार छैन ।”

बजेट सुनिश्चत नहुँदै निर्माणका कामका लागि बोलपत्र आह्वान हुने र काममा लगाउँदा विगतमा प्रदेशमा समस्या भएको बताउँदै आफू आर्थिक मामिला तथा कानुनमन्त्री हुँदा बजेट सुनिश्चित गरेर मात्र ठेक्का लगाउने प्रथाको सुरुवात र निर्माण व्यवसायीको भुक्तानीको व्यवस्था गरिएकाले गत आवमा पुँजीगत खर्चमा सुधार आएको दाबी गर्नुभयो । “अहिले हामी सबै जेल जाने अवस्थामा छौँ, सम्पत्ति शुद्धीकरण लगाउँदा हाम्रो घर, गाडी छ तर कुन आम्दानीको स्रोतबाट खरिद गरेको हो भन्ने छैन,” मुख्यमन्त्री लामाले भन्नुभयो, “राज्यले एक पटक सबैको सम्पत्तिको अभिलेखीकरण गर्नु पर्छ, जसले पारदर्शिता र सुशासनमा सहयोग पुग्छ ।”

हामी कति पारदर्शी छौँ, हामीले राज्यलाई कति कर तिरेका छौँ ? प्रश्न गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणमा सबैको साझा पहल र प्रतिबद्धता आवश्यक पर्ने बताउनुभयो । सो अवसरमा मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ) का अध्यक्ष कृष्णकुमार गुप्ताले उपमहानगरपालिकाले सहमतिबिना आर्थिक मन्दीको समयमा करका दर वृद्धि गर्दा समस्या आएकोप्रति मुख्यमन्त्री लामालाई ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि समन्वय गरिदिन आग्रह गर्नुभएको थियो । 

यसैबिच हेटौँडा उपमहानगरपालिकाले चालु आवका लागि विभिन्न शीर्षकमा करका दर वृद्धि गरेसँगै आन्दोलित भएका हेटौँडाका उद्योगी व्यवसायीले आन्दोलनको दोस्रो दिन मुख्यमन्त्री कार्यालयसहित जिल्ला समन्वय समिति र राजनीतिक दललाई ज्ञापनपत्र बझाउँदै सर्वसाधारणलाई कर नतिर्न आह्वान गरेका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घ, निर्माण व्यवसायी सङ्घ मकवानपुरलगायतका व्यावसायिक सङ्घ संस्था सोमबारबाट चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ) का अध्यक्ष गुप्ताले आन्दोलत अन्तर्गत बुधबार हेटौँडाको बुद्ध चोक, मउवासङ्घ चोकलगायतका स्थानमा हस्ताक्षर सङ्कलन, एक घण्टा हेटौँडा उपमहानगरपालिका कार्यालयअगाडि शान्तिपूर्ण विरोध, विभिन्न स्थानमा कालो ब्यानर राखी उपमहानगरले गरेको कर वृद्धिको विरोध गर्ने र बिहीबार दुई घण्टा शान्तिपूर्ण धर्ना तथा व्यापार व्यवसायीविरोधी हेटौँडा नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने कार्यव्रmम तय गरिएको जानकारी दिनुभयो । 

पाँचौँ दिन हेटौँडा नगरमा विरोध -यालीसहित आआफ्नो व्यापार व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरमा चाबी बुझाएर पहिलो चरणका कार्यक्रम समापन गरिने छ । साथै कर वृद्धिविरुद्ध कानुनी उपचारका क्रममा अदालतमा समेत उद्योगी व्यवसयाी सामूहिक रूपमा मुद्दा दर्ताका लागि जाने अध्यक्ष गुप्ताले बताउनुभयो । आर्थिक मन्दीको समयमा व्यवसाय करलगायतका कर १५० प्रतिशतसम्म वृद्धि गरेको उद्योगी व्यवसायीको जिकिर छ ।