• २३ भदौ २०८१, आइतबार

प्रतिनिधि सभामा विधेयक पेस

blog

काठमाडौँ, साउन २९ गते । प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ । बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले उक्त विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुभएको हो ।

प्रतिनिधि सभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्नुभएको थियो । सभापति सिंहले कतिपय विकासका आयोजनाहरू राजनीतिक उपजका सिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताउनुभयो । 

उहाँले मन्त्री फेरिएपिच्छे कर्मचारीहरूको सरुवा गर्नु, आयोजनमा खटिएका कर्मचारीलाई आयोजना नसकिँदासम्म सोही आयोजनामा काम गर्न नदिनु, आयोजनाका काममा राजीनितक हस्तक्षेप हुनुलगायत यावत समस्या रहेका जानकारी गराउनुभयो । आवको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गर्नुभयो । 

बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा सदस्यहरूको नाम हेरफेर भएको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३० गते दिउँसो १ बजे बस्नेछ । रासस