• १८ पुस २०८१, बिहिबार

हवाई दुर्घटनाले नियामक निकायको नियमन फेल : सांसद गौतम

blog

काठमाडौँ, साउन २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद गौतमले यस्तो बताउनुभएको हो ।

सांसद गौतमले हवाई दुर्घटनाको विषय छैटौँ पटक संसदमा विषय उठान भए पनि सरकारले अहिलेसम्म सुनुवाइ गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै सरकारले तत्काले उक्त विधेयक ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसदमा आउन नसकेको भनाइ व्यक्त गर्नुभयो ।

सांसद गौतमले यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको भन्दै उक्त अडियोबाट प्रष्टसँग लापरबाही भएको सुन्न सकिने बताउनुभयो । उहाँले नियामक निकायको नियमन फेल भएकै कारण इयूको कालोसूचीमा पर्नु, आइकाओ अडिटमा कम नम्बर दिएको दाबी गर्नुभयो ।

उहाँले हवाई सुरक्षाको निम्ति प्राविधिक रूपमा गर्नुपर्ने खर्च सरकारले नगर्दा पनि हवाई यात्रा असुरक्षित बन्दै गएको उल्लेख गर्नुभयो ।

उहाँले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा अहिले छुट्याउने विधेयक संसदबाट पारित गरी नीतिगत रूपमा देखिएका त्रुटिहरूलाई समाधान गर्न सक्नुपर्ने बताउनुभयो ।