• २ असोज २०८१, बुधबार

मन्त्री पाण्डे र कोरियाका पूर्व पर्यटन मन्त्रीसहितको टोलीबिच भेटवार्ता

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग भेटवार्ता गर्दै दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युजिन रोंङसहितको प्रतिनिधि मण्डल ।

काठमाडौँ, साउन २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र  दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युजिन रोंङबिच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहनु पूर्वमन्त्री रोंङ सहितको प्रतिनिधि मण्डलले सोमबार पर्यटनमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । भेटका अवसरमा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५० औँ वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबिचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्नुहुँदै दुई देशबिच संस्कृति, शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी मन्त्री पाण्डेले नेपाल र कोरियाबिचको हवाई भाडा केही महँगो भएको विषयमा आम जनगुनासो रहेको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले भन्नुभयो, ‘‘५० हजार भन्दाबढी नेपाली कोरियामा बस्नुहुन्छ । उहाँहरूलाई आउजाउ गर्न प्लेन भाडा महँगो हुने गरेको गुनासो गर्नुहुन्छ । यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस् ।’’

नेपालमा कोरियाबाट बर्सेनि ३० हजार पर्यटक आउने गरेको तथ्याङ्क रहेको बताउँदै कोरियाका पूर्वमन्त्री युजिनले नेपाल कोरिया दुई मित्र देशबिचको मित्रवत् सम्बन्धको प्रशंसा गर्दै हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताउनुभयो । 

उहाँले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तो दिनुभएको छ । साथै उक्त भ्रमणले नेपालमा कोरियाली पर्यटक भित्रनेमा विश्वास समेत व्यक्त गर्नुभएको थियो । मन्त्री पाण्डेले आफू पनि कोरियाको भ्रमणमा आउनका लागि उच्च प्राथमिकता राख्ने बताउनुभएको थियो ।