• २ माघ २०८१, बुधबार

भिरालो बस्तीमा डरैडरको बास

blog

अविरल वर्षातका कारण बाजुराको पाखो तथा भिरालो ठाउँको बस्तीमा गएको पहिरो । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, साउन २८ गते । बाजुराको पाखो तथा भिरालो बस्तीका स्थानीयलाई यति बेला राती घरमा डरैडरको बास बस्नु परेको छ ।

जिल्लाको पाखो तथा भिरालो बस्तीको तलमाथिबाट पहिरो जान थालेपछि यहाँका स्थानीयलाई वर्षाको समय राती घरमा डरैडरको बास बस्नु परेको हो । 

पानी परेको बेला गाउँ बस्तीको तलमाथिबाट पहिरो जाने गरेकाले घरमा राती बसोबास गर्न निकै डर लाग्न थालेको हिमाली गाउँपालिका–३  का हंस बुढाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “भिरालो ठाउँमा बसोबास छ । पानी परेका बेलामा राती घरको माथिबाट पहिरो आएर कति बेला पुर्छ भन्ने डरैडरमा रात काट्नु परेको छ ।”

साउन २६ गते गोठालो गएको बेला दिउँसै माथिबाट पहिरो आएर धेरै पशुचौपाया मरेका छन् । आफू पनि घाइते भएको छु । कुन राती घरमा पनि पहिरो लागेर ज्यान नै जान्छ भन्ने डरैडरमा यति बेलाका रात काटी रहेको बुढाले बताउनु भयो ।

जिल्लाको हिमाली, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायतका पाखो तथा भिरालो ठाउँ यति बेला बाढी पहिरोको उच्च जोखिम रहेका छन् ।

बर्खाको समय लगातार परेको अविरल वर्षातका कारण यहाँका अधिकांश ठाउँमा पहिरो जाने गरेकाले पछिल्लो समय यी ठाउँका बस्ती बाढीपहिरोको जोखिममा हुन् ।

बाजुरामा लगातार परेको अविरल वर्षातका कारण भिरालो ठाउँमा पहिरो लान थालेपछि अहिले यहाँ बसोबास गर्ने स्थानीयलाई दिन रात पहिरोको त्रास बढ्दै गएको छ ।

असारको पहिलो सातादेखि साउनको अन्तिम सम्म हिमाली, जगनाथ, खप्तछेडेदह र त्रिवेणीलगायतका अधिकांश पाखो तथा भिरालो ठाउँको बस्तीमा गएको पहिरोले यहाँका स्थानीयलाई त्रिपालको बास बस्न बाध्य बनाएको छ ।

पहिरोले घरबास विहीन भएका यहाँका स्थानीय अहिले खुल्ला आकाशमा समय त्रिपाल मुनीको बास गरिरहेका छन् । 

बाढीपहिरोको जोखिममा रहेका अधिकांश बस्तीलाई स्थानान्तरणका लागि स्थानीय तहले जिल्ला विपत् व्यवस्थापन समितिलाई तथ्याङ्क सङ्कलन गरी पठाएको भए पनि उताबाट भने अहिलेसम्म केही सुनुवाइ नै नभएको पालिकाले जनाएका छन् ।


बाजुरामा प्रायः पाखो तथा भिरालो ठाउँमा पहिरो जाने गरेकाले त्यो बस्तीका स्थानीयलाई यति बेला पहिरोको डर छ । गत साउन २६ गते हिमाली गाउँपालिकाको–३ बौडीमा दिउँसै पहिरोमा परी ४१ पशुचौपाया मरेका छन् भने त्यहाँ गोठालो गएका चारजना समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

पहिरोको कारण मानवीय क्षति नभए पनि हिमाली, गौमुल, त्रिवेणी र खप्तड छेडेदहलगायतका स्थानीय तहमा धान, कोदोलगायत यहाँका स्थानीयको घरछानामा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक  दिलीप कुमार गिरीले बताउनुभयो ।

बाजुरामा झण्डै एक सय ३५ भन्दा बढी गाउँ बस्ती बाढीपहिरको उच्च जोखिममा छन् । यी बस्तीलाई विगतका केही वर्षदेखि नै स्थानान्तरण गर्नु पर्ने हो तर अहिलेसम्म ती बस्ती कतै स्थानान्तरण भएका छैनन् । 

बस्ती स्थानान्तरणका लागि जिल्लाको नौवटै स्थानीय तहबाट आएका सबै सिफारिस गृह मन्त्रालयमा पठाएको र उताबाट अहिलेसम्म केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

भूकम्प तथा बाढीपहिरोबाट घरबास विहीन भएकाहरूको टहरा निर्माणका लागि झण्डै १४ करोड रुपियाँका आएको हो । त्यो रुपियाँ कसै स्थानीय तहले लिएर टहरा निर्माण गरिरहेका छन् भने अरू स्थानीय तहले यो रकम पनि नलिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, “घर निर्माण गर्नु पर्ने धेरै छन् । उताबाट कम रकम आएको छ । यो रकमले यहाँका सबैलाई घर टहरा निर्माण गर्न नपुग्ने भएकोले पुन गृहमन्त्रालयमा रकम माग गरिरहेका छौँ । ”

उताबाट रकम आयो भनेपछि भूकम्प तथा बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई घर निर्माणका लागि रकम वितरण गर्न सकिने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।