• १६ भदौ २०८१, आइतबार

खानेपानीको मूल्यवृद्धि फिर्ता

blog

खानेपानीको मूल्य बृद्धि फिर्ताको दवाव कार्यक्रममा स्थानीय ।

निशा राई 

धरान, साउन २८ गते । धरान खानेपानी बोर्डले केही समयअघि वृद्धि गरेको खानेपानी महसुलको मूल्य फिर्ता गरेको छ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ देखि लागु हुनेगरी साउन १ गतेदेखि खानेपानी महसुलमा वृद्धि गर्ने निर्णय गरेको थियो ।

धरानका १० राजनीतिक दलहरुसहित स्थानीयवासीले साउन ११ गतेबाट विरोध गर्दै आएका थिए । नगरप्रमुख हर्कराज राईले एक्लौटी रुपमा खानेपानीको महसुल दर नौ हजार नौसय प्रतिशतसम्म वृद्धि गरेको भनी आन्दोलित १० दलसँग नगरप्रमुख राईले बताउनुभयो । उहाँका अनुसार धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठकले मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको हो । 

नगरप्रमुख हर्कराज राईले दलका प्रतिनिधिले राखेको तीन सुत्रीय मागमा सहमती गरी खानेपानी महसुलको पुरानो दर यथावत् राख्ने निर्णय भएको बताउनुभयो ।  वार्तामा भएको सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘खानेपानी महसुल वृद्धिबारे खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र मानी जवाफ नआइन्जेलसम्म पुरानो दर महसुल यथावत् राखी पुनर्विचार गर्ने निर्णय गरियो ।’

दोस्रो बुँदामा खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिनुपर्ने दलको मागबारे उक्त बिषय उच्च अदालतमा विचाराधीन भएकाले अदालतको आदेश प्राप्त भएपछि सोहीअनुसार हुने निर्णय भएको छ । 

त्यसैगरी, तेस्रो बुँदामा खानेपानी बोर्डको आय–व्यय विवरण ७ दिनभित्र सार्वजनिक गर्ने निर्णय पनि उक्त वार्तामा भएको नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले जानकारी दिनुभयो ।