• १६ भदौ २०८१, आइतबार

बिरामी बोक्न स्ट्रेचर र झोलुङ्गोको भर

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन २८ गते । वर्षाले बारम्बार डाँडापाखा र खोलाको बाटो बिगारेर यातायात सञ्चालन नहुँदा सर्लाहीको चुरे भेगका स्थानीयको दैनिकी असाध्य कष्टकर बनेकोे छ । चुरे भेगका बस्ती पर्ने यहाँको चार पालिकामा खोलाबाट सञ्चालन हुने यातायातका साधन अहिले पूर्ण रूपमा ठप्प छन् । चुरेपाखाका बासिन्दा वडा कार्यालय, बजार, स्वास्थ्य संस्थालगायतका ठाउँमा आउँदा घण्टौँसम्म पैदल हिँड्न बाध्य छन् । 

गर्भवती र गम्भीर अवस्थाका बिरामीलाई झोलुङ्गो वा स्ट्रेचरमा हालेर राजमार्ग क्षेत्रका अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता छ । ईश्वरपुर नगरपालिका–१२, लालबन्दी नगरपालिका–१२, १३, १४ र १५, हरिवन नगरपालिका–१ र बागमती नगरपालिका–१ मा यस्तो समस्या छ । 

लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरखबहादुर बलले चुरे भेगमा दसैँअघि गाडी चल्ने अवस्था नरहेको बताउनुभयो । वडा नं. १५ को चुरे भेगमा फूलजोर र कालिञ्जोर खोलाबाट चल्ने बस दुई महिनाअघिदेखि ठप्प छन् । 

“बारम्बार बाढी आइरहेकाले दसैँअघि माथि चुरे भेगमा गाडी जान सक्ने अवस्था छैन,” वडाध्यक्ष बलले भन्नुभयो, “स्थानीयलाई औषधी उपचार र वडा तथा अन्य कार्यालयको सेवा लिन आउन असाध्य समस्या परिरहेको छ ।” सुगम जिल्लाका रूपमा चिनिने सर्लाहीको चुरे भेगमा दर्जनौँ दुर्गम बस्ती रहेका छन् । 

हिउँदका महिनामा स्थानीय बासिन्दा बस, ट्याक्टर, जिपलगायतका साधनमा चढेर बजारसम्म आउने गरे पनि वर्षायाममा बाढी आउन थालेपछि बाढी घटेको मौका पारी पैदल हिँडेर गाडी चल्ने ठाउँसम्म आउनुपर्ने बाध्यता छ । लालबन्दी नगरपालिका–१४, नारायणखोलाका स्थानीय भीमबहादुर पाख्रिनले शुव्रmबार मात्रै आफू कम्मरसम्मको बाढीमा हेलिएर लालबन्दी बजार आइपुगेको बताउनुभयो । 

उहाँका अनुसार खोलामा बाढी आइरहेकाले पैदल हिँडेर आउन पनि असाध्य जोखिम छ । पाख्रिनले भन्नुभयो, “नारायणखोलाबाट पत्थरकोटसम्म पैदल हिँड्नुको विकल्प नै छैन । पत्थरकोटसम्म आएपछि त्यहाँबाट बल्ल गाडी पाइन्छ ।” 

लालबन्दी–१४ को सिङ्गो वडा नै सडक सञ्जालमा जोडिएको छैन । खोला भएर जानुपर्ने चुरे भेगका केही स्थानीयले मोटरसाइकललगायत आफ्ना अन्य सवारी तल चुरे फेदीमै थन्क्याएर खोलाको बाढीमा हेलिएर घरसम्म पुग्ने गरेका छन् । बागमती नगरपालिका–१ का वडाध्यक्ष गम्भीरसिं पाख्रिनले कच्ची बाटो पु¥याएको चुरे भेगमा अहिले मोटरसाइकल, ट्याक्टर केही चल्न सक्ने अवस्था नरहेको बताउनुभयो । “निरन्तरको वर्षा र वर्षापछि पाखामा बगेर आएको भेलले चुरे भेगको बाटो सबै बिगारेको छ,” वडाध्यक्ष पाख्रिनले भन्नुभयो, “पानी पर्न रोकिएर मर्मत नगरिएसम्म गाडी चल्न सक्ने अवस्था छैन ।” 

चुरेपाखामा गाडी जान नसक्दा बागमती–१ को दापडाँडा, वाइबाडाँडा, घट्टे टोललगायत आधा दर्जनभन्दा बढी बस्तीका ८० भन्दा बढी घरधुरीका स्थानीय समस्यामा परेका वडाध्यक्ष पाख्रिनले बताउनुभयो । चुरे भेगको दुर्गम डाँडापाखामा बसोबास गर्ने कतिपय स्थानीय वैदेशिक रोजगारमा गएर आर्थिक अवस्था राम्रो भएपछि बजार क्षेत्रमा बसाइँ सरेर आउन थाले पनि आर्थिक अवस्था कमजोर रहेका अधिकांश सडक, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सुविधाबाट समेत वञ्चित भई कष्टकर दैनिकी गुजार्न बाध्य छन् । कतिपय स्थानीयले आर्थिक अवस्था सुधार हुँदा पनि आफ्नो पुरानो थाकथलो छाड्न इच्छा देखाएका छैनन् ।