• १६ भदौ २०८१, आइतबार

नेटा दर्लिङ र ह्वाङ्दी गाउँमा अझै पुगेन विद्युत् सेवा

blog

विद्युत् सेवा पुग्न नसकेको नेटा दर्लिङ र ह्वाङ्दी गाउँ । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, साउन २८ गते । गुल्मीका तीन हजार घरधुरीमा अझै पनि विद्युत् सेवा पुग्न सकेको छैन । जिल्लाको मालिका गाउँपालिका–१, २ र ३ वडामा अझै पनि विद्युत् सेवा पुग्न सकेको छैन भने मुसीकोट नगरपालिका–१, २, ८ र ९ का वडावासीले लघु जलविद्युत्मार्फत कहिलेकाहीँ मात्रै उज्यालो पाउने गरेका छन् । स्थानीय लघु जलविद्युत्को नहर र बाँध पहिरोले बगाएपछि यहाँका बासिन्दा अचेल अँध्यारोमा बस्न बाध्य छन् । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीका प्रमुख अर्जुन पोखरेलका अनुसार हाल मालिका र मुसीकोटका गरी तीन हजार घरधुरीमा विद्युत् सेवा पुग्न नसकेको बताउनुभयो । मालिकाका तीन वडाका लागि यसै वर्ष विद्युतीकरण गर्नका लागि बोलपत्र आह्वान गरिएको छ । यसै आर्थिक वर्षमा मालिकामा विद्युत् सेवा दिने गरी कार्यालयले काम गरेको उहाँको भनाइ छ । मुसीकोट नगरपालिकाका वडामा विद्युतीकरण गर्नका लागि क्षेत्रीय कार्यालयलाई रकम माग गरिएको र रकम प्राप्त भएपश्चात् मात्रै काम अगाडि बढ्ने पोखरेलले बताउनुभयो । 

जिल्लाको वारिपारि झलमल्ल विद्युत् बल्दा आफूहरूकोमा कहिले उज्यालो होला भनेर कल्पना गर्दै बस्ने गरेको मालिका–१ का स्थानीय राज खड्काले बताउनुभयो । राज्यका अरू नागरिक सरह आफूहरू कहिले हुन सकिएको भन्ने चिन्ता लाग्ने गरेको उहाँको भनाइ छ । 

पूर्वऊर्जामन्त्री गोकर्णराज विष्टसमेत रहेको जिल्लामा अझै विद्युत् नपुग्नु दुःखद भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो । मालिकाका केही वडा र मुसीकोटका केही वडाबाहेक गुल्मी जिल्लामा ६० हजार घरधुरीमा विद्युतीकरण पुगेको छ । जिल्लामा नेपाल विद्युत् प्राधिकरणबाट ३४ हजार र सामुदायिक विद्युतीकरणमार्फत २६ हजार घरधुरीले विद्युत् सेवा लिँदै आएका छन् । सामुदायिकमार्फत वितरण भएको स्थानमा भने सहजता छैन । जहाँ विद्युत् सेवा अवरुद्ध हुँदा मर्मत गर्ने काम पनि निकै सुस्त हुने गरेको स्थानीयको गुनासो रहेको छ । 

विद्युत् प्राधिकरण गुल्मीले विगतको वर्षमा भन्दा यस वर्ष बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । यस आवमा वितरण केन्द्र गुल्मीले १४ करोड ८५ लाख ५० हजार राजस्व जम्मा गरेको हो । अघिल्लो वर्षको बक्यौता रकम पनि उठाउन सफल भएको वितरण केन्द्र गुल्मीका प्रमुख पोखरेलले दाबी गर्नुभयो ।