• १६ भदौ २०८१, आइतबार

कर्जामार्फत उद्यमशीलता सिर्जना गर्न तयार छौँ

blog

निजी क्षेत्रको पहिलो नबिल बैङ्क लिमिटेडले चार दशकको यात्रा पूरा गरिसकेको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त पहिलो वाणिज्य बैङ्कले बैङ्किङ क्षेत्रप्रतिको आमधारणा परिवर्तन गर्दै सर्वसाधारणलाई बैङ्किङ कारोबारमा अभ्यस्त बनाउन भूमिका खेलेको छ । ब्यालेन्स सिटका आधारमा सर्वाधिक खुद नाफा कमाउँदै आएको बैङ्कको वितरणयोग्य मुनाफा पनि अरूको तुलनामा धेरै छ । पछिल्लो समय सर्वाधिक नाफा आर्जन गरेको बैङ्कको ४१ बर्से यात्रा, नेपालको बैङ्किङ व्यवसाय, नबिलको वित्तीय अवस्थालगायतका विषयमा प्रस्तुत छ, बैङ्कको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानासँग भेषराज बेल्बासेले गर्नुभएको कुराकानी : 

अर्थतन्त्र चुनौतीमा छ । सबै क्षेत्र प्रभावित छन् । बैङ्किङ क्षेत्रको अवस्था कस्तो छ ?

गत वर्षदेखि नै अर्थतन्त्रममा शिथिलता देखिएको हो । बैङ्किङ क्षेत्रमा पनि त्यसको प्रभाव परेको देखिन्छ । समग्र व्यापारमा कमी, उधारो नउठ्ने, चेक बाउन्स हुने, खराब कर्जा पनि बढेको छ । जसले गर्दा बैङ्कहरूले सोचे जस्तो नतिजा दिन सकेका छैनन् ।

 चुनौतीका बिचमा बैङ्कको पछिल्लो ब्यालेन्स सिटले आकलन गरेभन्दा राम्रो अवस्था देखियो नि ?

योभन्दा अझै कमजोर हुन्छ कि भन्ने थियो । पछिल्लो समय नयाँ सरकार बनेपछि लगानीकर्ताको मनोबल केही बढेको छ । असार मसान्तमा तिर्नु पर्छ भन्ने नेपालीहरूको राम्रो बानी पनि छ । अरू त्रैमासमा तिर्न आनाकानी गरे पनि असार मसान्तमा तिर्नु पर्छ भन्ने मानसिकता छ । बैङ्करहरू कठोर रूपमा लागेको र नेपाल राष्ट्र बैङ्कले पनि असारको ब्याज साउन १५ गतेसम्म उठाउने समय दिएको थियो । यस्तै कुराले सकारात्मक प्रभाव प¥यो ।

 चार दशकभन्दा बढी यात्रा तय गरेको नबिल बैङ्कको अहिलेसम्मको यात्रालाई कसरी हेर्नुहुन्छ ?

नबिल बैङ्कको इतिहास ४० वर्ष पुरानो छ । नेपालमा प्रजातन्त्र आउनुभन्दा अगाडि नै बैङ्क स्थापना भएको हो । त्योबेलादेखि अहिलेसम्म आइपुग्दा बैङ्किङ क्षेत्रमा धेरै परिवर्तन भइसकेको छ । बैङ्किङ क्षेत्रमा नयाँ नयाँ प्रयोगहरू, बैङ्किङका गतिविधि धेरै डिजिटलाइज्ड भएका छन् । त्यसले गर्दा जोखिम र प्रतिस्पर्धा पनि थपिएको छ । नबिल तत्कालीन अवस्थामा चौथो बैङ्क भयो । अहिले जिडिपीको दायरा पनि बढेको छ । समग्रमा भन्दा चुनौती पनि थपिएर गएका छन् ।

नबिल बैङ्कले निजी क्षेत्रको अग्रणी बैङ्कको छवि कायम गर्दै वित्तीय सूचकमा पनि अगाडि रहनुको राज के हो ?

नबिल निजी क्षेत्रको पहिलो बैङ्क भएका कारणले पहिला आउनेको फाइदा त पाइन्छ नै । एउटा साझेदारीको बैङ्क थियो । पारदर्शी र कर्पोरेट गभर्नेन्सको नीतिमा चलेको बैङ्क भएकाले हाम्रा सानादेखि ठुला बचतकर्ता छन् जसले गर्दा बेस रेट कम हुन गयो । ठुलो पुँजीमा आइसकेपछि हामीले कर्पोरेट सेक्टरलाई फोकस ग¥यौँ सुरुका दिनमा । ठुला कर्जाहरू पनि दियौँ । बैङ्कको सञ्चालक समितिले बनाउने रणनीतिले नै बैङ्कलाई ड्राइभ गर्ने हो । नबिल बैङ्कको सुरुदेखिको रणनीति नै नम्बर वान हुन्थ्यो । त्यसले गर्दा हामी लगातार नम्बर वान छौँ । सबै कुरामा नम्बर वान हुनु पर्छ भनेर समग्र मापदण्डलाई समेटेर लैजाँदा अहिले यो स्थानमा आउन सकियो । मूलभूत रूपमा ग्राहकको विश्वास नै हो । 

 लाभांशका दृष्टिले पनि बैङ्कको आफ्नै विशेषता छ । सेयर होल्डरलाई के भन्नुहुन्छ ?

नबिलको लाभांशको इतिहास हेर्ने हो भने पक्कै पनि राम्रो छ । एक सय प्रतिशतसम्म लाभांश दिएका छौँ । लाभांश दिने कुरामा सेयर होल्डरमा मनस्थिति कस्तो छ भने साधारण सेयर होल्डरले बोनस सेयर दिए हुन्थ्यो भन्ने प्रोमोटर सेयर होल्डरले नगद लाभांश दिए हुन्थ्यो भन्ने । व्यापार बढाउँदै जानुपर्ने अवस्थाले गर्दा हाम्रो मूल पुँजीको आवश्यकता पनि बढ्दै जाने हो । राष्ट्र बैङ्कले पनि तोकेको हुन्छ । हामी बोनस र नगदलाई मिलाएर लैजानेमा अगाडि नै छौँ । क्रमिक रूपमा लाभांशको दर बढ्दै जान्छ । 

 मौद्रिक नीतिलाई कसरी हेरिरहनुभएको छ ?

यस पटकको मौद्रिक नीतिले नेपाल सरकारले लिएको आर्थिक वृद्धि, कुल गार्हस्थको वृद्धिलाई सहयोग पुग्ने गरी कर्जाको वृद्धि साढे १२ प्रतिशत होस् भन्ने हिसाबले ल्याइएको छ । विगतको भन्दा अलिक खुकुलो छ । कर्जाको वृद्धि साढे १२ प्रतिशत हुनलाई बैङ्कसँग तरलता प्रशस्त हुनु पर्छ जुन अहिले छ । यस्तै बजारमा माग हुनु पर्छ र माग हुनलाई लगानीकर्ता विश्वस्त हुनु पर्छ । नीति नियम स्थिर हुन्छन् भनेर लगानीकर्तामा आत्मविश्वास जागेको छ । अर्को कुरा धेरै बैङ्क लगानी गर्नलाई आफ्नो कोर क्यापिटल टाइट भइसकेको थियो । कोर क्यापिटलको अभावले गर्दा लगानी गर्न सक्ने अवस्थामा थिएनन् । त्यसलाई पनि केही हदसम्म सहज बनाइदिनका लागि राष्ट्र बैङ्कले भूमिका खेलेको छ ।

विगत दुई वर्षदेखि निर्माण व्यवसायीको रोकिएको भुक्तानी गर्ने विषयमा सम्बोधन गरिएको छ । यस्तै कुराले गर्दा कर्जामा साढे १२ प्रतिशतको वृद्धि हासिल गर्न सम्भव हुन्छ जस्तो लाग्छ ।

 लगानीका प्राथमिकताका क्षेत्र के के छन् ?

कुन क्षेत्रमा कति लगानी गर्ने भनेर राष्ट्र बैङ्कले तोकेकै छ । बैङ्कहरू कसैको हाइड्रोमा पुगेको छैन, कसैको एसएमईमा छैन, कृषिमा पुगेको छैन । नबिल बैङ्कको पनि एसएमईमा पुगेको छैन । त्यसलाई प्राथमिकतामा राखेका छौँ तर त्यसका लागि बजारमा माग पनि हुनु पर्छ । स्टिल र सिमेन्टमा पनि ठुलो कर्जा जाने अवस्था छैन । हाइड्रोपावरका परियोजना आइरहेका छन् । जसमा लगानीका सम्भावना देखिएका छन् । आइटी सेक्टरमा पनि लगानीको सम्भावना देखिएको छ । कृषि र एसएमईमा लगानीका सम्भावना खोज्ने हो ।

 बैङ्कले वित्तीय सामाजिक उत्तरदायित्वमा खर्च कसरी गरेको छ ?

हामीले नाफाको निश्चित प्रतिशत वित्तीय सामाजिक उत्तरदायित्वमा खर्च गर्नै पर्छ । विगतदेखि नै यसमा खर्च पनि गर्दै आएका छौँ । त्यसमा पनि वित्तीय साक्षरतामा १० प्रतिशत खर्च गर्नु पर्छ । सामाजिक उत्तरदायित्वमा गर्ने खर्चलाई प्रत्यक्ष रूपमा उद्यमी बनाउने र रोजगारी दिलाउने गरि आफ्नो महìवपूर्ण योजनामा काम गरिरहेको छ । बैङ्कले सुरु गरेको ‘नबिल एसएसई (नबिल स्कुल अफ सोसल इन्टरप्रिनरसिप) कार्यक्रम अन्तर्गत नवीन विचार भएकालाई स्कुल कलेजसँगको सहकार्यमा उद्यमशीलता सिकाउँदै आएको छ । यसमा फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम समावेश गरेका छौँ ।कोर्स पूरा गर्नेलाई बैङ्कले नै कर्जा दिएर उद्यमशीलताको बाटो तय गरिदिन्छ ।