• २७ साउन २०८१, आइतबार

किम्ची फास्टफुडलाई दुई लाख जरिवाना : ‘इको’ व्राण्डको पानीमा किरा भेटियाे

blog

काठमाडौँ, साउन २७ गते। सिल गरेको बोतलको पानीमा अखाद्य वस्तु भेटिएपछि किम्ची फास्टफुडलाई दुई लाख जरिवाना गरिएको छ।  काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले दुई लाख जरिवानासहित कारबाही गरेको हो। 

सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नम्बर ११ का वडा सदस्य यशोमती परियारले पानीमा किरा सल्वलाएको देख्नुभएको थियो। 

रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौँको टोखा नगरपालिका वडा नंं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा. लि. ले उत्पादन गरेको ‘इको’ व्राण्डको पानी हो । 

कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख डंगोलले दुषित पानी विक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उहाँ निस्कनु भयो । त्यसपछि कार्यक्रम रोकिएको थियो । 

‘पानीजन्य सङ्क्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य बस्तु देखिनु चरम लापर्वाही हो । महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापर्वाही नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ ।’’ त्यस क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले, अनुरोधलाई अटेर गर्नेहरुलाई कानुनी कारवाही गर्नुको विकल्प नरहेको बताउनुभयो । 

तत्काल अनुगमन टोली पुगेर रेष्टुरेन्टबाट नमूना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समयसमेत सकिएकाले त्यस दिन कारवाहीको निर्णय हुन सकेन । यसकारण आइतबार दूषित पानी विक्री गर्नेलाई दुई लाख जरिवाना गर्ने निर्णय भएको जानकारी महानगरले दिएको छ । 

रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौँको टोखा नगरपालिका वडा नंं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा. लि. ले उत्पादन गरेको ‘इको’ व्राण्डको पानी हो ।  पानीलाई परीक्षणका लागि प्रयोगशालामा पठाएको र त्यसको प्रतिवेदन आएपछि मात्रै के गर्ने भन्ने टुङ्गो लाग्ने जानकारी पनि महानगरले दिएको छ । 

खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यस अघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई दुई पटक जरिवाना तिराएको थियो ।