• २७ साउन २०८१, आइतबार

कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

blog

पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउदै । तस्बिर : रासस

गोदार (धनुषा), साउन २७ गते । हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण सङ्घर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ । सिराहाका इन्जिनियरहरूको अगुवाइमा गठित सङ्घर्ष समितिले आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । 

जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय पुगेर बुझाएको ज्ञापनपत्रमा पुल निर्माणको एक सूत्रीय माग राख्दै सात दिने अल्टिमेटम पनि दिइएको सिराहा नगरपालिकाका इन्जिनियर एवम् सङ्घर्ष समितिका संयोजक प्रविनकुमार यादवले जानकारी दिनुभयो । माग सुनुवाइ नभए त्यसपछि थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उहाँले बताउनुभयो । 

ज्ञापन पत्र बुझाउनुअघि धनुषा र सिराहाका विभिन्न ठाउँबाट राजनीतिकर्मी, बुद्धिजीवी, युवा र सरोकार भएकासहित बृहत् र्‍याली निकालिएको थियो । ज्ञापनपत्रमा सङ्घीयता आएको नौ वर्ष बित्दा पनि एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के भनेर प्रश्न गरिएको छ । रासस