• २७ साउन २०८१, आइतबार

डा. शेखरको प्रश्न-सुशासनमा किन हामी चुक्यौँ

blog

नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला

काठडौँ, साउन २७ गते। नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सुशासनमा ठुला दल नै चुकेको भन्दै पार्टीको ध्यानाकर्षण गराउनुभएको छ। आइतबार पार्टी केन्द्रीय समिति बैठकमा १० बुँदे धारणा राख्नुहुँदै सङ्घ र प्रदेशमा मन्त्री छनोट गर्दा सुशासनलाई ध्यान नदिएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो।

‘‘वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन्। तर व्यवहारमा सङ्घ र प्रदेशमा मन्त्रीहरू छनौटले सुशासनलाई जिस्काइरहेको छ। हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बार चुक्दै छौँ ?’’, उहाँले भन्नुभयो।

उहाँले दक्षिण एसियामा राजनीतिक हलचल छाएको र निर्वाचित सरकारमाथि धावा बोलिएकाले दक्षिण एसिया अन्तर्राष्ट्रिय राजनीतिको क्रिडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने सम्भावना बढेको उल्लेख गर्नुभएको छ। यो विषयमा पार्टी केन्द्रीय कार्यसमिति गम्भीर हुनुपर्ने उहाँको भनाइ छ। 

उहाँले वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएकाले त्यसलाई ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। 

सरकार छ भन्ने अनुभूति आम नागरिकलाई सङ्कटको समय सबैभन्दा बढी हुने भन्दै कांग्रेस सहभागी सरकारले मानवीय कार्यलाई एकछिन ढिला गर्नु नहुने उहाँको भनाइ छ। 

उहाँले प्रदेशले संविधान अनुरूप पाउनुपर्ने अधिकार नपाएको विषयलाईसमेत महत्त्वका साथ उठाउनुभएको छ। नेता कोइरालाले नेपाली कांग्रेसको विधानमा प्रदेश कार्यसमितिलाई अझ बलियो बनाउने गरी विधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो।