• १६ भदौ २०८१, आइतबार

मिडियाले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्छ : पूर्वमन्त्री चौधरी

blog

सुनसरी, साउन २७ गते । पूर्वमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले सञ्चारमाध्यमले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्ने बताउनुभएको छ । सुनसरीस्थित बराह क्षेत्र मिडिया प्रा.ली.को चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । 

सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद चौधरीले सूचना तथा प्रविधिको कारणले आज विश्व एउटै गाउँ बनेको बताउँदै त्यसलाई सहीरुपमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले सूचना प्रविधिको प्रयोग गरेर कतिपय व्यक्तिहरुले अस्वस्थ प्रतिस्पर्धासमेत गर्ने गरेको भन्दै त्यस्ता कुरालाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । “कतिपय मानिसहरु अस्वस्थ प्रतिस्पर्धामा गइरहेका छन् । जसका कारण राम्रा काम गर्नेहरु ओझेलमा पनि परेका छन्,” उहाँले भन्नुभयो, “मिडियाले राम्रो कुरालाई उजागर गर्ने र बेथितिलाई बाहिर ल्याएर गलत काम गर्ने व्यक्तिलाई कठघरामा ल्याउने काम गर्नुपर्छ । गलत काम गर्नेलाई सजाय दिलाउन सक्नेसम्मको काम तपाईहरुको मिडियाले गर्न सक्छ ।” बेथितिलाई बाहिर ल्याएर राम्रा कुराको प्रोत्साहन गर्ने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

२०४९/५० मा छ महिना आफूले पनि रेडियो नेपालमा काम गरेको स्मरण गर्दै उहाँले मिडियाका विषयमा आफूलाई पनि केही कुरा जानकारी रहेको बताउनुभयो । “यसमा राम्रो कुराका साथै केही चुनौती पनि रहेको छ । ती चुनौतीलाई पार गर्दै गयौँ भने पक्कै पनि हामी सफल हुनेछौँ,” उहाँले भन्नुभयो । 

अर्को प्रसङ्गमा पूर्वमन्त्री चौधरीले मन्त्रीहरु अस्थायी हुने भएकाले कतिपय कामहरु चाहेर पनि गर्न सक्ने अवस्था बताउनुभयो । “हामी राजनीतिकर्मीहरु सांसद हुन्छौँ । कहिलेकाहीँ मन्त्री बन्ने अवसर आउँछ । तर त्यो स्थायी नहुने रहेछ । एक-दुई महिना काम हुन्छ, तर स्थानीय सरकार पाँच वर्षका लागि स्थायी हो । यसमा हामी काम गर्न सक्छौँ,” उहाँले भन्नुभयो । उहाँले सबै निकायले सबै मिडिया बाँच्ने हिसाबले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

“मिडिया हरेक ठाउँमा चाहिन्छ । त्यसकारण हामीले व्यावसायिकरुपमा काम गर्न सकिन्छ । हामीले हाम्रो तर्फबाट पनि पहल गर्न सक्छौँ,” उहाँले भन्नुभयो, “तर समय सन्दर्भअनुसार मिडियाले पनि आफूलाई परिवर्तन ल्याउन आवश्यक छ ।” मिडिया सर्भाइभ हुने गरी काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।