• २७ साउन २०८१, आइतबार

डिभिजन वन कार्यालय बाँके उत्कृष्ट घोषणा

blog

नेपालगन्जस्थित डिभिजन वन कार्यालय बाँके । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन २७ गते । नेपालगन्जस्थित डिभिजन वन कार्यालय बाँके वन अपराध र नियन्त्रणमा लुम्बिनी प्रदेश भरिमै उत्कृष्ट घोषित भएको छ । गत आर्थिक वर्ष ०८०–८१ मा लुम्बिनी प्रदेशका १२ जिल्लाका १४ डिभिजन वन कार्यालयहरूमध्ये वन मन्त्रालय लुम्बिनी प्रदेशको मूल्याङ्कनमा वन अपराध र नियन्त्रण कार्यमा बाँके उत्कृष्ट कार्यालय बनेको हो । 

वन क्षेत्रको प्रभावकारी संरक्षण र व्यवस्थापनमा सक्रिय र निरन्तर योगदान पुर्‍याई वन अपराध र नियन्त्रणमा प्रदेश भरिमै उत्कृष्ट कार्य गरेकोले उक्त भूमिकाको उच्च मूल्याङ्कन गर्दै डिभिजन वन कार्यालय बाँकेलाई प्रदेश वन मन्त्रालयले कदरपत्र प्रदान गरेको डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख वन अधिकृत वीरेन्द्र रोक्काले बताउनुभयो । 

उहाँले जिल्लामा रहेका सबै वन कार्यालयका युनिट र कर्मचारीहरूको मिहिनेतले गर्दा यो सफलता प्राप्त भएको बताउनुभयो । 

प्रदेशको वन वातावरण तथा जैविक विविधताको संरक्षण एवम् व्यवस्थापनका माध्यमबाट प्रदेशभित्रको रोजगारी र आयआर्जनमा योगदान पुर्‍याउन गत आर्थिक वर्ष ०८०–८१ मा वन मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय बाँकेले वन अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुनेगरी उत्कृष्ट कार्य सम्पादन गरेकोले कदरपत्र प्रदान गरिएको सो कार्यालयले जनाएको छ । 

प्रदेश वन मन्त्रालयले लमही दाङमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा गत आर्थिक वर्षको प्रगति समीक्षा गोष्ठीको अवसरमा डिभिजन वन कार्यालय बाँकेलाई उत्कृष्ट घोषणा गरी कदरपत्र प्रदान गरेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।