• २७ साउन २०८१, आइतबार

स्नातक प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन २७ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना गरिदिने भएको छ । यस जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई रेसुङ्गा नगरपालिकाले निःशुल्क भर्ना गरिदिने भएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । 

आइतबार नगर कार्यपालिको बैठकपश्चात् जिल्लास्थित उद्योगी, व्यवसायीहरूको सहभागितामा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुहुँदै नगरप्रमुख पन्थीले यस रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या बढाउनका लागि अहिले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना गरिदिने निर्णय गरिएको बताउनुभयो । 

यस जिल्लाको समुन्नतिको ढोका खोल्न शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्छ भन्ने ध्येयका साथ आफूहरूले काम गरेको भन्दै उहाँले पछिल्लो समयमा विभिन्न कारणले यस क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या न्यून देखिएकाले नगरपालिकाले निःशुल्क भर्ना गर्न थालेको बताउनुभयो ।  

नगरप्रमुख पन्थीले आफू नगरपालिकामा निर्वाचित भएर आएसँगै रेसुङ्गा बहुमुखी क्याम्पसलाई अनुदान स्वरूप एक करोड रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो । जसमा पचास लाख रुपियाँ क्याम्पसलाई हस्तान्तरण गरिसक्नु भएको छ, भने बाँकी पचास लाख रुपियाँ अनुदान छिट्टै क्याम्पसलाई उपलब्ध गराउने बताउनुभयो । 

यस पटक नगरपालिकाले करिब ३०० विद्यार्थीलाई स्नातक तह प्रथम वर्षमा निःशुल्क भर्ना गर्ने लक्ष्य लिएको छ । विद्यार्थीहरूको सङ्ख्या वृद्धि भए क्याम्पसको अधिकांश समस्या समाधान हुने भन्दै नगरप्रमुख पन्थीले आर्थिक अभावमा कोही पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय रहेको बताउनुभयो । 

त्यस अवसरमा क्याम्पस प्रमुख हरिबहादुर खत्रीले विद्यार्थी सङ्ख्या क्रमिक रूपमा घट्दै जान थालेको भन्दै नगरपालिकाले गरेको सहयोगले नयाँ आशा थपिएको बताउनुभयो । सामुदायिक क्याम्पसहरूलाई राज्य तहबाट सहयोग गर्ने अवस्था नभएकाले पनि पहाडी क्षेत्रका क्याम्पस सञ्चालनमा समस्या आएको उहाँले बताउनुभयो ।