• २७ साउन २०८१, आइतबार

अर्चलेमा ‘महिनाको एक दिन श्रमदान’ अभियान

blog

सडकको खाल्डाखुल्डी पुर्दै जनप्रतिनिधि र स्थानीयहरु । तस्बिर : होम राई मगर

इमान सिं राना

रामपुर (पाल्पा), साउन २७ गते । विगतमा आफ्नो गाउँ टोलको बाटो, कुलो, पँधेरो बिग्रिए समुदायबाटै समस्याको समाधान गरिन्थ्यो । पछिल्लो समय आफ्नो घर आँगनमा भएका सामान्य समस्याको समाधानका लागि सरकारकै मुख ताक्ने प्रवृत्ति हावी हुँदै गैरहेको सन्दर्भमा जिल्लाको एक वडाले ‘महिनाको एक दिन श्रमदान’ अभियान सञ्चालनमा ल्याएको छ । 

सामुदायिक कामको लागि श्रम संस्कृति हराउँदै जान थाले पछि निस्दी गाउँपालिका ६ नं. वडा कार्यालय अर्चलेले अभियान सुरु गरेको हो । सार्वजनिक स्थलको ससाना काम पनि आफुले नगर्ने, सरकार र जितेर गएका जनप्रतिनिधिले केही गरेन भनेर वितृष्णा फैलिरहेको सन्दर्भमा वडाले अभियान थालेको हो । नागरिकलाई समाजप्रति जिम्मेवार बनाउन श्रमदान अभियान थालनी गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले बताउनुभयो । "विगतमा बाटो, कुलो तथा पँधेरा निर्माण समुदाय स्तरबाटै हुन्थ्यो । अहिले श्रम गर्ने संस्कृति हराउँदै गयो । टोलको ससाना समस्याको लागि पनि वडा र पालिकासँग निर्भर रहने प्रवृत्ति बढेकाले नागरिकलाई जिम्मेवार बनाउन महिनामा एक दिन श्रमदान अभियान थालिएको हो," उहाँले भन्नुभयो । 

वडाले यसअघि टोल समिति आफ्नो टोल आफैं बनाउन अभिप्रेरित गर्दै आएको थियो । वडाभित्र जहाँ समस्या छ त्याहाँ श्रमदानको माध्यमबाट समाधान गर्न र युवाहरुलाई उत्तरदायी बनाउन प्रत्येक महिनाको एक दिन शनिबार पारेर अभियान सञ्चालन गरेको सुनारीले बताउनुभयो । उहाँले अति आवश्यक सडक सञ्चालनमा समस्या आएमा सामान्य पहिरो तथा खाल्डाखुल्डीको काम श्रमदान बाटै हटाउने र नसकिने अवस्था रहेमा पालिकाको सहयोग लिने गरिएको जानकारी दिनुभयो । 

साउन महिनाको श्रमदान अन्तर्गत गत शनिबार २१ जनाको उपस्थितिमा सडक मर्मत गरिएको छ । सिलुवा अर्चले मित्याल सडक खण्डको धरादीदेखि रेचेसम्म सडकको खाल्डाखुल्डी पुर्ने, साना पहिरो हटाउने र सडक खसेको ठूला ढुङ्गा हटाउने कार्य भएको थियो । 

श्रमदानका लागि स्थान र मिति तय गरेर वडाका जनप्रतिनिधि तथा कर्मचारीलाई अनिवार्य र सहभागी हुन इच्छुकलाई सूचना जारी गरी आह्वान गर्दै आएको छ । वडाका टोल विकास समितिहरुले सडक, कुलोको मर्मत, विद्यालय, स्वास्थ्य चौकी, देवी देवताका थान र पँधेरा सरसफाइ गर्दै आएको वडा सदस्य प्रकाश रानाले जानकारी दिनुभयो । श्रमदान अभियानले स्थानीयहरु थप सक्रिय भएको बताउनुभयो ।