• २७ साउन २०८१, आइतबार

भारतका पूर्वविदेशमन्त्री सिंहको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

blog

नयाँदिल्ली,  साउन २७ गते ।  भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेता के. नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । 

लामो समयदेखि बिरामी रहेका उहाँको गुरुग्राम (हरियाणा) स्थित मेदान्त अस्पतालमा निधन भएको हो । 

काङ्ग्रेस नेता एवं राज्यसभा सांसद रणदीप सिंह सुरजेवालाले शनिबार राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको शोक सन्देशमा भनिएको छ, “पूर्व विदेशमन्त्री नटवर सिंहजीको निधन भएको छ । ईश्वरले उहाँको परिवारलाई यो क्षति सहने शक्ति प्रदान गरुन्, साथै, दिवङ्गत आत्माको शान्तिका लागि कामना ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व विदेशमन्त्री नटवर सिंहको निधनप्रति दुःख व्यक्त गर्दै उहाँले कूटनीति र वैदेशिक नीतिका क्षेत्रमा भारतका लागि गरेको योगदानको प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “नटवर सिंहजीको निधनबाट मर्माहत भएको छु । उहाँले कूटनीति र विदेश नीतिको क्षेत्रमा भारतका लागि ठूलो योगदान दिनुभएको छ । उहाँ आफ्नो बुद्धि र विपुल लेखनका लागि पनि चिनिनुहुन्थ्यो । दुःखको यस घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना प्रकट गर्दछु ।

सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषदमा विदेशमन्त्रीको रूपमा काम गर्नुभएको थियो । सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।   रासस/एएनआई