• १६ भदौ २०८१, आइतबार

फोनिजकाे २५ औं स्थापना दिवस

blog

पत्रकार सुजता सुनुवारलाई पुरस्कार हस्तान्तरण गर्दै इलाम नगरपालिका प्रमुख केदार थापा ।

कोकिला ढकाल 

इलाम, साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ इलामले आफ्नो २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसका अवसरमा महासङ्घ इलाम शाखाले स्थापना गरेको आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार पत्रकार सुजता सुनुवारलाई प्रदान गरेको छ । 

इलाम नगरपालिका प्रमुख केदार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सुनुवारलाई उक्त पुरस्कारले सम्मान गरिएको हो । २०६९ देखि जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा आबद्ध रहेकी सुनुवार अहिले काठमाडौंको उज्यालो रेडियो नेटवर्कमा कार्यरत हुनुहुन्छ । नगद दश हजार राशीको सो पुरस्कारबाट यसअघि पत्रकारद्वय सटेन्द्र जवेगू र ज्ञानु केदेम पुरस्कृत भइसक्नुभएको छ । 

कार्यक्रममा सहभागीले आदिवासीका सवाल र आवाजलाई सञ्चारकर्मीहरुले बाहिर ल्याउन र उनीहरुका अधिकार स्थापित गराउन कलमका माध्यमबाट अझै सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष कमन देवान, नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लव भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।