• १६ भदौ २०८१, आइतबार

मिर्गौला उपचारका लागि जमुनालाई १५ लाख सहयोग

blog

नगद हस्तान्तरण गरिँदै ।

राधाकृष्ण डुम्रे

वालिङ, साउन २७ गते । गल्याङ नगरपालिका–११ छापकी जमुना थापालाई उपचारका लागि रु. १५ लाख हस्तान्तरण गरिएको छ । दुई वटै मिर्गौलामा समस्या आएपछि पोखरामा उपचार गराइरहनुभएकी थापालाई मगर सङ्घ गल्याङले नगद सहयोग हस्तान्तरण गरेको हो । 

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएको भन्दै परिवारले सहयोगको अनुरोध गरेपछि मगर सङ्घ गल्याङ नगर समितिले सहयोग सङ्कलन गरेको थियो । 

समितिले देश तथा विदेशमा रहनुहुने व्यक्ति तथा सङ्घ संस्थासँग सङ्कलन गरेको रु. १५ लाख जमुना र उनका श्रीमान यामबहादुर सोमैलाई हस्तान्तरण गरेको हो । साउन २५ सम्ममा यो रकम सङ्कलन भएको भन्दै थप रकम सङ्कलन हुने क्रममा नै रहेको मगर संघ गल्याङ नगर समितिका अध्यक्ष कुमार रानामगरले जानकारी दिनुभयो । 

रकम हस्तान्तरण गर्दै पूर्व सांसद महेन्द्र थापामगरले एक अर्कालाई परेको समस्यामा सहकार्य गर्दै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । मानिसले खाने आहार व्यहारमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउने गरेको उहाँको भनाइ छ । 

बिरामी जमुनाका श्रीमान यामबहादुरले सहयोगको लागि सबैलाई धन्यवाद दिनुहुँदै थप सहयोगको अपेक्षा गरेको बताउनुभयो ।