• १६ भदौ २०८१, आइतबार

पहिरो पीडितलाई खानेपानी र विद्युतको समस्या

blog

पहिरोले क्षति पुगेको बडिगाडको आरुपाटा बस्ती र पुल । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य

बागलुङ, साउन २७ गते । पहिरोले प्रभावित बागलुङको बडिगाड गाउँपालिका ९ र १० का विभिन्न बस्तीमा विद्युत् सेवा र पिउने पानीको समस्या भएको छ । गत मङ्गलबार आएको पहिरोका कारण लघु जलविद्युत् आयोजना र खानेपानी योजनामा क्षति पुगेका कारण सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । 

पहिरोका कारण यहाँका धेरै बस्ती जोखिममा परेका छन् । दर्लिङखोला लघु जलविद्युत् आयोजनाको मुहान र कुलोमा पहिरोले क्षति पुर्‍याएपछि वडा नम्बर ९ र १० का करिब एक हजार दुईसय घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरले बताउनुभयो । 

विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर भएको छ । पहिरोबाट विस्थापित ५० घरधुरीलाई सार्वजनिक स्थल र विद्यालयमा लगेर राखिएको छ । पहिरोपीडितलाई पिउने पानी, दैनिक उपभोग्य वस्तु र विद्युतको समस्या भएको उहाँले बताउनुभयो । खानेपानी योजनाको मुहान र ट्याङ्की पहिरोले बगाउँदा ६५ घरधुरीमा पानीकाे आपूर्ति बन्द भएको छ । 

"पहिरोले लघु जलविद्युत् आयोजनाको मुहान र कुलो बगाएको छ । तत्काल मर्मत सम्भार गर्ने अवस्था छैन," वडाध्यक्ष बुढामगरले भन्नुभयो, "पहिरोले धेरै क्षति पुर्‍याएकाले लघु जलविद्युत् आयोजना मर्मत गरेर पुनः सञ्चालन गर्ने सम्भावना देखिएको छैन । गाउँनै अन्धकार भएको छ । स्कुल पढ्ने बालबालिका र वृद्धवृद्धाहरु धेरै प्रभावित भएका छन् ।  केन्द्रिय लाइन विस्तारको विकल्प छैन । विद्युत आपूर्ति नहुँदा सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको छ ।"


यसैगरी अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । पहिरोका कारण भिमगिठे–दर्लिङ सडक र बुर्तिबाङ हुँदै आरुपाटा जाने सडक पूर्ण रुपमा बन्द भएको छ । पहिरोले धेरै ठाउँहरुमा सडक क्षतविक्षत बनाएको छ वडाध्यक्ष बुढामगरले भन्नुभयो, "सडक अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ । आवतजावतमा समस्या भएको छ । गाउँका पसलहरुमा भण्डारण गरिएको खाद्यान्न सकिन थालेको छ । चारदेखि पाँच घण्टा मानिसले बोकेर खाद्यन्न ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ ।"

वडाध्यक्ष बुढामगरका अनुसार गत सोमबार राती परेको अविरल वर्षाका कारण वडा नम्बर ९ को नयाँ बस्ती र १० को आरुपाटा, पात्ले, क्लावझिङ, खोर, सल्लेन धारालगायत बस्तीहरु पहिरोको जाेखिममा परेका छन् । सबैभन्दा उच्च जोखिममा पात्ले गाउँ परेको उहाँको भनाइ छ । 

गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरेपनि त्यो अपुग भएको पहिरो पीडतहरुले बताएका छन् । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अति आवश्यक सामग्री उपलब्ध गराएको र थप राहतका लागि प्रदेश र संघ सरकार समक्ष अनुरोध गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

"पहिरोका कारण वडा नम्बर १० मा मानविय क्षति ठूलो भयो यसबाट पालिका दुःखी छ । वडा नम्बर ९ का विभिन्न वस्तीहरु पहिरोको उच्च जोखिममा छन्," पालिका अध्यक्ष अधिकारीले भन्नुभयो, "हाम्रो पालिकामा महाविपद नै आइलाग्यो । यसको सामाना गर्ने क्षमता पालिकासँग मात्र रहेन । सङ्घ, प्रदेश र सम्बन्धित सबै निकायसँग हामीले सहयोगको अपिल गरेका छौं ।" पहिरो पीडितहरुलाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कुनै कसर बाँकी नराखी उद्धार, घाइतेको उपचार, राहत वितरण र अन्य सहयोगमा पालिका जुटेको उहाँले बताउनुभयो । 

स्थानीय लघुजलविद्युत तत्काल बनाउन सक्ने अवस्था नभएकाले केन्द्रीय विद्युत् लाइनलाई छिटो विस्तार गर्न विद्युत प्राधिकरणसँग छलफल भएको उहाँको भनाइ छ । पहिरोले धेरै स्थानमा सडकको जगनै बगाएकाले पालिकाले मात्र मर्मत सम्भार गर्न सम्भव नभएकाले संघ र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो । अवरुद्ध सडक खुलाउन करिब दुईतीन करोड रुपियाँ बजेट लाग्ने अनुमान गरेका छौं उहाँले भन्नुभयो, "यति धेरै बजेट पालिकाले व्यवस्था गर्न नसक्ने भएकाले माथिल्लो निकायमा माग गरेका छौं।" 

पहिरो पीडितहरुलाई राहत र जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थलमा राख्ने विषयमा जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, जिल्ला प्रशासनलगायत सरोकारवालासँग पालिकाले नियमित छलफल गरिराखेको उहाँले बताउनुभयो । क्षतिको विवरण सङ्कलन र घाइतेको उपचार लगायतका विषयमा पालिकाले पहिरो प्रभावित बस्तीहरुमा टोली खटाएको उहाँको भनाइ छ । पहिरोमा परेर ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ ।